सरकारबाट बाहिरिने निर्णय राप्रपाले गर्न सकेन, बैठक आजै ५ बजे फेरि बस्ने
केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएपछि राप्रपा केन्द्रीय समितिको बैठक आजै ५ बजेसम्मका लागि स्थगित भएको छ। ‘बैठकमा साथीहरूले बोल्ने क्रम अझै सकिएको छैन। आजै ५ बजे फेरि बैठक बसेर निर्णय गर्नेछ,’ राप्रपाकी प्रमुख सचेतक कुन्तीकुमारी शाहीले सेतोपाटीलाई बताइन्।
बैठकपछि बोल्दै पार्टीअध्यक्ष कमल थापाले छलफल जारी रहेको बताएका छन्। ‘छलफल जारी छ। अझै टुंगिएको छैन। विचार व्यक्त भइरहको छ। यसले मुलुकको समग्र परिस्थितिमा, आगामी चुनावका सम्बन्धममा पार्नसक्ने प्रभावलाई दृष्टिगत गर्दै छलफल गरिरहेका छौ। र पार्टीको निर्णय ५ बजेको बैठकपछि मात्र आउनेछ।’
तेस्रो ठूलो सत्तारूढ दल राप्रपा सरकारबाट बाहिरिने विषयमा छलफल भइरहेको हो। कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले आफूखुसी निर्णय गरेको भन्दै सत्तारूढ दल राप्रपाले सरकारबाट फिर्ता हुनेबारे निर्णय गर्न केन्द्रीय सदस्यको आकस्मिक बैठक बोलाएको हो।
आजको बैठकमा दुबै पक्षका नेताहरूले कुरा राखेका थिए। कतिले सरकार छोड्नुहुन्न भनेका थिए भने कतिले सरकारमा बसिरहन नहुने धारणा राखेका थिए।


