वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डले आम नेपाली अझै पनि मर्माहत
काठमाडौं । शुक्रबार दिउँसो नारायणहिटी दरबार संग्रहालयको वातावरण अन्य दिनको तुलनामा छुट्टै थियो । सर्वसाधारणको चहलपहल व्यापक भएपनि शान्त, मौन र ज्ञिजासु देखिएको थियो । कोही भावुक मुद्रामा पूर्वराजा रानीको हत्या भएको स्थलमा कोरिएका अक्षरहरु पढिरहेका देखिन्थे भने कोही नयाँ संरचनामा राखिएका वस्तुहरुलाई नजिकबाट नियालीरहेका थिए । १६ बर्ष अघिको त्यो विर्सन नसकिने रातले शुक्रबार सबैलाई त्यसतर्फ तानेको थियो ।

नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिनको सम्झनामा पनि धेरै मानिसहरु संग्रहालयको अवलोकनमा आएका थिए । यहि ठाउँमा १६ वर्ष अगाडि २०५८ साल जेठ १९ गते शुक्रबार तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी नारायणहिटी दरबार हत्या काण्ड मच्चाईको थियो ।
पूर्वराजा वीरेन्द्रको बंशनाश हुने गरी भएको यो घटनालाई नेपालको इतिहासमा अझैपनि कालो दिनका रुपमा लिइने गरिएको छ । अकल्पनीय रुपमा भएको त्यो घटनामा पूर्वराजा वीरेन्द्र परिवारका साथ राजपरिवारका १० सदस्यको हत्या भएको थियो । शुक्रबार अवलोकनमा पुगेकाहरुले समेत हत्याकाण्डको प्रमाणहरु हेर्न नपाएकोमा खिन्न छन् ।
दरवार हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाएर अवलोकनका लागि सर्वसाधरणको लागि खुला गरिएपनि दःुखद घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने सर्वसाधरणको माग छ ।
नेपालका शाहवंशीय राजाहरुमा लोकप्रिय मानिएका राजा वीरेन्द्रको परिवारमाथि बज्रेको यो बज्रपातले आम नेपालीलाई मर्माहत बनाएको थियो । धेरैले अझै पनि राजा वीरेन्द्र र रानी ऐश्वर्यालाई आफ्नो प्रिय राजारानी मान्दै आएका छन् । यही प्रिय वस्तु आफुबाट चुँडिदा जोकोही मानिसको हालत के हुन्छ ? अहिले यस्तै भएको छ आम नेपालीलाई । मनोज पराजुली, न्यूज२४ ।


