२०० जनाले सिमिकोट विमानस्थलमा घेराउ गरेपछि ८० जना भारतीय पर्यटक अघोषित रुपमै बन्दी बने
हुम्ला, जेठ २० । स्थानीयवासीले हुम्लाको सिमिकोट विमानस्थलमा घेराउ तथा धर्ना दिएपछि शनिबार बिहानदेखि करिब ८० भारतीय पर्यटक अलपत्र परेका छन् । स्थानीयले निर्माण सामाग्री तथा खाद्यान्न ढुवानीका लागि प्रभावकारी व्यवस्था नभएको भन्दै एक्कासी विमानस्थल बन्द गराएपछि भारतीय पर्यटक विमानस्थल परिसरमै अघोषित रुपमा बन्दी बनेका हुन् ।
शनिबार बिहान मानसरोवर यात्राका क्रममा नेपालगंजबाट सिमिकोट पुगेका उनीहरु विमानस्थलबाट बाहिर निस्कन नपाएका हुन् । विमानस्थलमा रहेका ती भारतीय पर्यटकलाई बाहिर निस्कन दिइएको छैन ।
बिहानदेखि उनीहरु विमानस्थलभित्रै छन् । स्थानीय प्रशासनले सहमतिका लागि प्रयास भइरहेको जनाएको छ । विमानस्थलमा प्रहरी टोलीले सहमतिका लागि प्रयास जारी राखेको जनाइएको छ । करिब दुई सयको संख्यामा स्थानीयले विमानस्थल घेराउ गरेका छन् ।
विमानस्थल बन्द भएपछि हिल्सामा रहेका पर्यटकहरु समेत सिमिकोट फर्कन पाएका छैनन् । उनीहरु मानसरोवरबाट फर्कने क्रममा हिल्सामा आइपुगेको भए पनि विमानस्थल बन्द भएको खबरपछि हिल्सामै रोकिएका हुन् । हिल्सामा करिब दुई सय भारतीय पर्यटक रहेको बताइएको छ ।


