वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका नेपालीको शव आफन्तले नेपाल ल्याउन सकेनन्

दमक, वैदेशिक रोजगारीका क्रममा मलेसिया रहेका झापा, अर्जुनधारा ११ का ४३ वर्षीय राजेन्द्र दंगाल १२ वर्षपछि घर फर्कने कुराले परिवारमा खुसी छाएको थियो। ‘घर फर्कदैँछु’ भन्ने सन्देश परिवारमा पठाएको छोटो समयमै राजेन्द्रको मृत्यु भयो। २०६२ सालदेखि मलेसियामा कार्यरत राजेन्द्रको मृत्युका कारण अहिले परिवार शोकमा छ।

‘उ मेरो जेठो छोरा हो। १२ वर्षदेखि अहिले सम्म एक पटक पनि घर फर्केन। हामीले कर गर्दा गर्दा घर आउँछु भनेको थियो, तर आउँछु भनेको केही दिनमै उसको मृत्युको खबर सुन्‍न पर्‍यो,’ फोटो देखाउँदै राजेन्द्रका बुबा मुक्तिनाथ डंगोलले भने। छोरा मलेसियामा प्लष्टिक कम्पनीमा काम गर्ने भन्‍ने मात्र सुनेको उनी बताउँछन् ।

‘हामीसँग चाहीँ प्लाष्टिक फ्याक्ट्रीमा काम गर्छु भन्थ्यो, तर कुन कम्पनीमा गथ्र्यो थाहा नै भएन।’ लामो समय घर नफर्केका कारण छोरालाई फर्काउन यहीबाट पैसा पठाउने योजना समेत बनाएको मुक्तिनाथ बताउँछन्। ‘धेरै वर्षसम्म घर नआउँदा पैसा नभएर पो आएनकी भनेर हामीले घर आईज हामी यहीँबाट पैसा पठाउँछौँ सम्म भनेका थियौं। उसले सुरु-सुरु पैसा पठाउँथ्यो। पछि पठाउन छाड्यो। एकैपटक पैसा लिएर फर्कन्छु भन्थ्यो। हामीलाई पैसा होइन छोरा चाहिएको हो,’ मुक्तिनाथले भने। राजेन्द्र जेठ १५ गते सोमबार मलेसियामा सुतेकै अवस्थामा मृत फेला परेका थिए।

उनका साथीहरुले उनको परिवारसम्म खबर गरेको बुबा मुक्तिनाथ बताउँछन्। ‘बिहान ११ बजे सम्म उठेन छ। नउठे पछि साथीहरुले प्रहरीलाई खबर गरेछन्, प्रहरीले हेर्दा छोराको मृत्यु भइसकेको रहेछ। उसका साथीहरुले त्यसपछि मेरो कान्छा छोरालाई सुनाएछन्। छोराले मलाई केही दिनसम्म त सुनाएन पनि।’

छोराले घरमा ल्याउनका लागि किनेका सामानहरुको फोटो समेत फेसबुकमा पठाएको आमा चन्द्रकला सम्झन्छिन्। ‘१२ वर्ष अघि नै गएको हुनाले विवाह गरेको थिएन। उ आएपछि धुमधामका साथ विवाह गरिदिने भनेर योजना बनाएका थियौं। तर आउनै पाएन। सामान किनेर त्यसको फोटो समेत फेसबुकमा पठाएको थियो,’ उनले भनिन्। उनको परिवार सामान्य खेती किसानी गर्ने परिवार हो। राजेन्द्रका बुबा मुक्तिनाथ बिर्तामोडको एक फर्निचर उद्योगमा सेक्युरिटी गार्डको समेत काम गर्थे। तर छोराको मृत्युको खबरपछि उनले काम छाडिसकेका छन्।

उनका २ छोरा र २ छोरीमध्ये राजेन्द्र जेठा हुन्। कम्पनीको काम छाडेर राजेन्द्र अवैधानिक रुपले मलेसिया बस्दै आएका थिए। उनी कम्पनीमा नबसेका कारण नेपाल शव ल्याउन समेत यतैबाट पैसा पठाउनुपर्ने मुक्तिनाथ बताउँछन्। ‘छोराको सास त भट्न पाईएन तर लाश भएपनि हेर्ने रहर छ। त्यसका लागि यहींबाट पैसा पठाउनु पर्ने रे! अहिले सम्म कति लाग्छ सम्म थाहा छैन। सनाखत गर्न मात्र २ लाख लाग्छ भनेका छन्,’ मुक्तिनाथले भने,’ अरु कति लाग्ने हो।

कान्छा छोरा रामेश्वर त्यसको प्रक्रिया मिलाउँन काठमाडौँ गएको छ।’ सामान्य कृषि पेशामा निर्भर मुक्तिनाथले आफ्नो छोराको शव नेपाल ल्याउनका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।