भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा १७ वर्षदेखि साउदी अरबको जेलमा !

पर्वत, भाद्र १७ । मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ । स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो ।

पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको थियो । मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दै छ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नुपर्‍यो ।

अब मेरो जीवन उसैको हातमा छ ।’ कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,’ उनले भने । निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनी बताउँछन् ।

पुनका एक श्रीमती र ३ छोरा छन् । एक छोरा अपांग छन् । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्छिन् । ‘उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,’ मायाले भनिन्, ‘दिनभरि दु:ख गर्‍यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।’

सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आस नमेटिएको उनले बताइन् । सन्तबहादुर जेल परेकोबारे २०५८ कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो । तर, सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन् । ‘द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्न सक्ने अवस्था थिएन,’ दाजु कुलबहादुरले भने, ‘अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।’ भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी संघसंस्थासमेत धाएका छन् । – कान्तिपुरबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।