गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन

खजुरा (बाँके), २४ भदौ । बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ ।

जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन् । तर गौशालाको उचित व्यवस्थापन र स्तरोन्नतीका लागि सरकारले बेवास्ता गर्दा संकटमा पर्दै गएको गौशालाका प्रमुख व्यवस्थापक शेरबहादुर ऐरीले बताउनुभयो ।

उहाँकाअनुसार दान, दक्षिणा, भेटी र स्थानीयवासीको सहयोगले गौशाला सञ्चालन भइरहेको छ । गौशाला र गुरुकुलको आफ्नो जमिन छैन । जमिनको व्यवस्थापन हुन नसकेकै कारण पशुपति सामुदायिक वनको जमिनमा बस्दै आएको उहाँले बताउनुभयो ।

२०६५ सालमा यज्ञशालाको नामबाट स्थापना भएको गौशाला र गुरुकूललाई आफ्नो जमिन नहुँदा गाईपालन र गुरुकूल सञ्चालनमा समस्या आउने गरेको छ ।

सामुदायिक वनले गूरुकुल संचालन गर्न नदिएपछि सामुदायिक भवनमा कक्षा सञ्चालन गरेको गुरुकुलका स्वयंमसेवक ओमकार स्वदेशीले बताउनुभयो । ‘गुरुकुलका लागि भवन बनाएर पठनपाठन गर्ने क्रममा सामुदायिक वनले संचालन गर्न दिएन,’ उहाँले भन्नुभयो ।

तीन कक्षासम्म सञ्चालनमा रहेको गुरुकुलमा ६२ जना बिद्यार्थी अध्ययनरत् छन् । भवन र शिक्षक अभावका कारण थप कक्षा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

सामुदायिक वनले उपभोगका लागि मौखिक रुपमा जमिन उपलब्ध गराएकाले कहिले हटाउने हो भन्ने कुराको ठेगान नभएको शिवगायत्री विद्या विस्तार गौशाला गुरुकुल आश्रम गौशालाकी लक्ष्मीकुमारी वाग्लेले बताउनुभयो ।

उहाँकाअनुसार सामुदायिक वनले उपभोग गर्न दिए पनि पटक÷पटक दुःख दिने गरेको छ, “अर्काले दयाले दिएको जमिन हो, दया रहँदासम्म बस्न देलान, त्यसपछि के हुन्छ थाहा छैन,’ वाग्लेले भन्नुभयो ।”

जमिन नभएकै कारण गाईका लागि घाँस रोप्न नसकेको र घाँस नभएकै कारण गाईलाई जंगलमा छोर्नुपरेको गायत्री परिवारका राष्ट्रिय संयोजक रमेशचन्द्र पौडेलले बताउनुभयो । उहाँकाअनुसार गाईलाई राम्रोसँग घाँस खुवाउन नपाउँदा गाईको वृद्धि विकास हुन नपाएको हो ।

गाईलाई सामुदायिक वनमा चराउन छोर्दा वनका पदाधिकारीले विरोध गर्ने गरेको उहाँले बताउनुभयो । ‘वनमा चर्न जान नदिउँ भने घाँस छैन, घाँस रोपौँ भने जमिन छैन,’ उहाँले भन्नुभयो । घाँस रोप्ने जमिन नहुँदा गाईलाई बिहान ७ बजे नै जंगलमा पठाउने गरिएको छ ।

गौशालाले गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल बनाउने गरेको छ । प्राङ्गारिक मल स्थानीयले लैजाने गरेका छन् । गौमुत्रबाट बनाएका गौजला औषधिबाट मासिक रु सात हजारदेखि १० हजार आम्दानी हुने गरेको मुख्य व्यवस्थापक ऐरीले बताउनुभयो ।

गौजला बिक्री नै गौशाला र गुरुकुलको मुख्य आयस्रोत हो । गौशालाले उत्पादन गरेको गौजला औषधि प्रतिलिटर रु ३०० मा बिक्री हुँदै आएको छ । सो औषधि लिन नेपालगन्ज, कोहलपुर, भारतको रुपइडिहा र बर्दियाको गुलरियासम्मका सर्वसाधारण यहाँ आउने गर्छन् ।

गौजलाबाट १०८ थरिका रोग निको हुने जनाएको छ । गौमुत्र संकलनका लागि साधन र प्रशोधनका लागि उपकरण नभएका कारण सोचेजस्तो आम्दानी गर्न नसकेको मुख्य व्यवस्थापक ऐरीले बताउनुभयो । गौमुत्र प्रशोधनका लागि गौशालासँग पुरानो पद्दतीका उपकरण बाहेक केहि छैन । ‘आधुनिक उपकरण भएको भए झनै राम्रो हुने थियो,’ उहाँले भन्नुभयो ।

दाउराको आगो बालेर गौमुत्रको बाफबाट गौजला औषधि बनाइन्छ । उहाँले राम्रो उपकरणको व्यवस्था भए धेरै औषधि उत्पादन गर्न सकिन्छ भन्नुभयो ।

‘स्थापनाकालमा खरिद गरेको पुरानो पद्दति र सानो भाँडा भएकोले मागअनुसारको औषधि उत्पादन गर्न सकिएको छैन,’ मुख्य व्यवस्थापक ऐरीले भन्नुभयो– “नयाँ उपकरण खरिदका लागि रु ७५ हजार लाग्ने देखिन्छ तर गौशालासंग त्यती रकम छैन् ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।