नेपालद्वारा बंगलादेश २–१ गोल अन्तरले पराजित
काठमाडौँ । भुटानमा जारी साफ (यू–१८) च्याम्यिनसिप अन्तर्गत सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गरे ।नेपालको लागी अभिषेक रिजालले खेलको २२ औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए । अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै ९३० औँ मिनेटतिर० बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।
यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।
बंगलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो । त्यसैगरी सोमबारै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।


