नेपाल पुलिस क्लवका खेलाडीलाई ब्याटमिन्टनको उपाधी
धनकुटा खबर । खेलक्षेत्रको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटामा जारी राष्ट्रव्यापी खुल्ला व्याटमिन्टन प्रतियोगिताको उपाधी नेपाली पुलिस क्लवका जीवन आचार्य र अनिश श्रेष्ठको जोडीले जितेको छ ।

कार्तिक २४ देखि धनकुटाको हिलेमा जारी खेलेको शनिबार भएको फाईनल खेलमा भोजपुरका नविन श्रेष्ठ र विवेक श्रेष्ठको जोडीलाई हराउँदै पुरुष डबल खेल तर्फ पराजित गर्दै आचार्य र श्रेष्ठको जोडि बिजयी भएको हो ।
आचार्य र श्रेष्ठको जोडिले उनीहरुलाई १७–२१, २१–१७ र २५–२३ को सेटमा पराजित गरेका थिए । उपाधीसँगै जीवन र अनिशको जोडीले नगद ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी र मेडल हात पारे । त्यस्तै उपविजेतामा चित्त वुझाएका नविन र विवेकको जोडीले नगद २५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी र मेडल पाए ।

त्यस्तै महिला डवल्स तर्फको उपाधी विराट व्याटमिन्टन क्लवका निता लम्साल र सीमा राजवंशीको जोडीले हात पारे । उनीहरुले हिले व्याटमिन्टन क्लवका अरुणा तामाङ र अन्जु तामाङलाई २१–८, १८–२१ र २१–११ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । विजेता निता र सीमाको जोडीले नगद २० हजार ५ सय ५५ सहित ट्रफी र उपविजेता अरुणा र अन्जुको जोडीले ट्रफी सहित १० हजार ५ सय ५५ पाए ।
सुपर भेट्रान तर्फ भने इटहरी व्याटमिन्टन क्लवका तुलसी सुवेदी र भोजराज रखालको जोडीले नवराज दुलाल (मोरङ) र तीर्थ धिताल (धनकुटा)को जोडीलाई पराजित गर्दै उपाधी जिते । तुलसी र भोजराजको जोडीले नवराज र तीर्थको जोडीलाई २१–१८, १९–२१ र २१–१६ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।
यता भेट्रान तर्फ धनकुटाका योगेश श्रेष्ठ र किरण श्रेष्ठको जोडीले विराट ब्याटमिन्टर क्लवका तुलसी सुवेदी र सन्दिप श्रेष्ठको जोडीलाई २१–१० र २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधी जिते । विजेता योगेश र किरणको जोडीले नगद २५ हजार ५ सय ५५ सहित ट्रफी र उपविजेता तुलसी र सन्दिपको जोडीले ट्रफी सहित १२ हजार ५ सय ५५ रुपैया प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ नेपाल पुलिसका जीवन आचार्य र महिला तर्फ विराट ब्यामिन्टन क्लवकी निता लम्साल घोषित भए । उनीहरुले नगद ५÷५ हजार रुपैया पाए ।
हिलेबजार ब्याटमिन्टन क्लवको आयोजनामा भएको प्रथम राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा खुल्ला पुरुष, खुल्ला महिला, भेट्रान र सुपर भेट्रान गरी चार समुहमा विभाजन गरी खेलाइएको थियो ।
सो प्रतियोगितामा झापा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम, काठमाडौं, ललितपुर लगायत १५ जिल्ला का ६० टोलिको सहभागिता रहेको आयोजनक समितिका अध्यक्ष राम तामाङ्गले जानकारी दिए ।
विजयी खेलाडीलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, हिले ब्याडमिन्टन क्लवका रावबहादुर गोङ्वा तामाङ, धनकुटा उद्योग वाणिज्य संघका प्रतिनीधि सन्तोष तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता सञ्चालनका लागि स्थानीय व्यापारी, समाजसेवी, चन्ददाताको आर्थिक सहयोगका अतिरिक्त धनकुटा नगरपालिका, गोर्खा व्रुअरी लगायतकाले प्रायोजन थिए ।


