म्यानमारमाथि विजय हात पारेको नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्ने
एसीसी यू–१६ इस्टर्न रिजन
सिकारु म्यानमारमाथि ३ सय ३७ रनको विजय हात पारेको नेपालले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाको सामना गर्ने खबर आजको कान्तिपुरमा प्रकाशित छ ।
थाइल्यान्डमा भइरहेको प्रतियोगितामा बिहीबारको जितपछि नेपालले समूह ‘ए’ को विजेता बन्ने निश्चित गरेको थियो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई १ सय ४३ र हङकङलाई ४ विकेटले पराजित गर्दै यसअघि नै सेमिफाइनल निश्चित गरेको थियो ।
समूह ‘बी’ मा मलेसिया उपविजेता बनेपछि नेपालसँग फाइनल पुग्नका लागि शनिबार खेल्न लागेको हो । अर्को सेमिफाइनल नेपालको समूहबाट उपविजेता बनेको हङकङ र समूह ‘बी’ को विजेता सिंगापुरबीच हुनेछ ।
ट्रेडथाई क्रिकेट मैदानमा कप्तान रीत गौतमले नटआउट १ सय ६ रन बनाएपछि नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाई ३ सय ५० रन बनायो । जवाफमा आएको म्यानमारलाई नेपालले ११.३ ओभरमा १३ रनमा अलआउट गर्यो । रीतले ७८ बल खेल्दै १२ चौका प्रहार गरे । उनले तृतराज जोशीसँग चौथो विकेटमा ९९ रन जोडे । २९ बल खेलेका तृतराजले ७ चौका र ३ छक्का प्रहार गरी ६४ रन बनाए । रीतले सातौं विकेटमा प्रतिश जिसीसँग अविजित १ सय १२ रन जोडे । प्रतिशले ३१ ब्ल खेली १० चौका र १ छक्का प्रहार गरी नटआउट ६३ रन बनाए ।
यसअघि नेपालबाट कुशल मल्ल २३ बलमा ३६, सुवास (सुबोध) ऐर १७ र विशाल विक्रम केसी ३२ बलमा ४२ रन बनाई आउट भए । म्यानमारका हेन टेट हुङले ३ विकेट लिए । दसौं नम्बरमा ब्याटिङ गरेका हुङले ३ रन बनाउनु नै म्यानमारका खेलाडीको उच्च स्कोर थियो । नेपालबाट नारायण जोशी र मेखबहादुर थापाले ४–४ तथा विशाल विक्रमले १ विकेट लिए ।
आहा ! म्यानमार
रीत गौतम एसीसीको यू–१६ प्रतियोगितामा शतक बनाउने नेपालका पहिलो खेलाडी हुन् । यसअघि दीपेन्द्र चन्दले २०१२ को एसीसी यू–१६ इलिटमा बहराइनविरूद्ध बनाएको ७५ रन नेपालको यो उमेर समूहमा उच्च स्कोर थियो । दीपेन्द्र पनि नेपाली टोलीका कप्तान थिए ।
म्यानमारसँग बनाएको ३ सय ५० रन यू–१६ प्रतियोगितामा नेपालको उच्च स्कोर हो । २०१२ मा एसीसी यू–१६ इलिटमा नेपालले इरानविरूद्ध बनाएको २ सय ४६ रन यसअघिको उच्च स्कोर हो ।
म्यानमारमाथि पाएको ३ सय ३७ रनको विजय उमेर समूहमा नेपालको दोस्रो ठुलो रनअन्तरको जित हो । सन् २००३ मा पाकिस्तानको कँराचीमा भएको युथ एसिया कप यू–१९ मा नेपालले माल्दिभ्सलाई ३ सय ४४ रनले पराजित गरेको थियो ।
म्यानमारसँग सबै खाले प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । सन् २००६ मा राष्ट्रिय टोलीले मलेसियामा एसीसी ट्रफी खेल्दा म्यानमारलाई १० रनमा अलआउट गरी २ बलमै विजय लक्ष्य पूरा गरेको थियो ।


