भैरहवालाई पराजित गर्दै विराटनगर उपाधि नजिक
काठमाडौं । विराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। किर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा आज भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लार्डिटर्सलाई ८ विकेटले पराजित गर्दै विरानगर उपाधि नजिक पुगेको हो।

पहिले ब्याटिङ गरेको भैरहवाले दिएको १२८ रनको लक्ष्य पछ्याएको बिराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। सुरुमै पहिलो विकेट गुमाएको बिराटनगरका ओपनर आसिफ शेख शुन्यमै आउट भए।
विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान गरे।
लिग चरणमा सबै ५ खेल जितेर अपराजित बन्दै विराटनगरले १० अंक जोडेको थियो। लिग चरणमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको थियो।
विराटनगरसँग पहिलो क्वालिफायरमा हारेपनि भैरहवाले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बुधबार पोखरा र ललितपुरबीच हुने एलिमिनेटरको विजेतासँग भैरहवाले बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ।


