विद्यालय नगई-नगई जाँडको व्यापार !

भोजपुर । दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदीबहिनीमध्ये कान्छी उनी चार कक्षामा पढ्छिन् । तर, प्रायः विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावाखोलाको दोभानमा भेटिन्छिन् । यहाँ उनका बुवा–आमा जाँड व्यापार गर्छन् । दुई कक्षा पढ्दादेखि बुवा–आमालाई जाँड बनाउन सघाइरहेकी रमिता अहिले उहाँहरूले नभ्याउँदा जाँड बनाउने, छान्ने र बेच्ने काम आफैं गर्छिन् ।

दक्षिणी भेगका दुम्माना, देवान्टार, पावला, पाँचा र हसनपुरको केन्द्र हो, एखावाखोला दोभान । दिनहुँ बटुवा यो बाटो ओहोरदोहोर गर्छन् । उनीहरू दोभानमा रोकिएर थकाइ मार्ने मेलो बन्छ– रमिताका बुवा–आमाले बनाउने त्यही जाँड । एक बटुको जाँड २० रुपैयाँमा बेचेर रमिताका बुवा–आमा दिनभरमा दुई हजार रुपैयाँसम्मको कारोबार गर्छन् । त्यसबाटै रमिता, उनका दाजु र दिदीहरूको लालनपालन, पढाइखर्च जोहो हुन्छ । रमिता भन्छिन्, ‘बुवा–आमाको काम देखेर मैले पनि सिकें । अब आफैं जाँड बनाएर पनि बेच्न सक्छु ।’

सदरमुकाम भोजपुरबाट दुई दिन पैदल हिंडेपछि पुगिन्छ, बालंखा बजार । बालंखा दक्षिणी भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र हो । सदरमुकामबाट १६ कोस टाढा पर्ने बालंखामा प्रत्येक शुक्रबार हाट लाग्छ । त्यस दिन यहाँका होटल र घरहरूमा जाँड र रक्सीको व्यापार थेगिनसक्नु हुन्छ ।बिहानदेखि राति अबेरसम्म ग्राहकको भीडभाड हुन्छ होटलमा । ११ वर्षीया रञ्जिता राई त्यही भीडभाडमा भेटिन्छिन् । ग्राहकलाई जाँड बनाएर दिने, भाँडाबाट रक्सी सारिदिने र सितन बनाइदिने काम गर्छिन्, उनी ।रञ्जिताको घर खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा पर्छ । बालंखामा उनी सानिमाको घरमा बस्छिन् ।

स्थानीय विद्यालयमा तीन कक्षामा पढिरहेकी रञ्जिताले यता आएपछि पढाइ पनि छाडिन् । उनले घर छाडेर हिंड्नुको कारण रहेछ– जाँडरक्सीको व्यापार । रञ्जिताको घरमा उनीभन्दा एक वर्ष जेठा दाजु, ८ र ५ वर्षीया बहिनी तथा तीन वर्षको भाइ छन् । जाँडरक्सी बनाएर बेच्नु बाआमाको मुख्य पेशा । दाजुपछि घरकी जेठी सन्तान भएकाले बुवा–आमाले उनलाई पनि जाँडरक्सी बनाउन लगाउँदा रहेछन् । ‘घरमा जाँडरक्सी मात्र बनाएर बस्नुपथ्र्यो, दिक्क लागेर सानिमाकोमा आएँ, अनि त पढ्न पनि छाडिदिएँ’ रञ्जिता भन्छिन्, ‘सानिमालाई जाँडरक्सी बनाउन चाहिं सघाउँछु, तर यहाँ घरमा जस्तो किचकिच छैन ।’

१४ वर्षीया संगीना राईको घर हतुवागढी गाउँपालिका वडा नम्बर २ मा पर्छ । ६ कक्षामा पढिरहेकी संगीनाको मुख्य काम आमालाई जाँडरक्सी बनाउन र बेच्न सघाउनु हो । स्कूल नगएको बेला धेरैजसो समय उनी आमासँगै बसेर जाँडरक्सी बनाउँछिन् । संगीनाका बुवा सानैमा बिते । घरमा कमाउने कोही छैन । दुई छोरी हुर्काउन आमाले जाँडरक्सी बेच्न थालेकी हुन् । हिजोआज संगीना र उनकी बहिनी दिनहुँ दाउरा जोहो गर्न वनजंगल जान्छन् ।

आमालाई सघाउँदा सघाउँदा अब उनीहरू आफैं जाँडरक्सी बनाएर बेच्न सक्ने भएका छन् । संगीना भन्छिन्, ‘बुवा हुनुभएको भए, यसरी दुःख गर्नुपर्ने थिएन होला, के गर्नु आमालाई सघाउनै प¥यो ।’ जाँडरक्सी बेचेर महीनामा दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाउँछन् उनीहरू । त्यही कमाइबाट घर खर्च गरेर कापीकलम र स्कूल ड्रेसको पनि जोहो गर्नुपर्छ ।

बालापनमै हिंसा
भोजपुर जिल्ला कुनै बेला देशकै प्रमुख शैक्षिक केन्द्र थियो । वि.सं. १९३२ मा बालागुरु षडानन्दले उत्तरी दिङ्लामा संस्कृत पाठशाला खोलेपछि त्यतिबेलै यो जिल्ला शैक्षिक केन्द्रको रूपमा चिनिन्थ्यो । षडानन्द मावि दिङ्लाका प्रधानाध्यापक गोपालप्रसाद तिम्सिनाका अनुसार उक्त पाठशाला जनस्तरबाट खोलिएको देशकै पहिलो र काठमाडौंको दरबार हाईस्कूलपछिको दोस्रो थियो ।

देशमा राणाशासनको जगजगी रहेको बेला जनताका छोराछोरीलाई अक्षर चिन्ने ‘छूट’ नहुँदा पनि भोजपुरले शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेको थियो । तिम्सिनाका भनाइमा, ‘अब भोजपुरसँग शिक्षाको त्यो वैभवको इतिहास मात्रै बाँकी छ ।’

जिल्ला शिक्षा कार्यालय भोजपुरको अभिलेखले देखाउँछ– शैक्षिक स्तर वर्षेनि खस्कँदो छ । २०६९ सालको एसएलसी परीक्षामा यहाँबाट १३.३० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । २०७० मा त्यो १२.२९ प्रतिशतमा झ¥यो । २०७१ मा उत्तीर्ण दर १७.९८ प्रतिशत पुग्यो । २०७२ देखि एसएलसी परीक्षा फेरिएर ‘एसईई’ भयो र नतिजा पनि ‘ग्रेडिङ’ पद्धतिमा गयो । त्यस अनुसार भएको २०७३ सालको परीक्षामा सहभागी तीन हजार ५० विद्यार्थीमध्ये एकजनाले पनि ‘ए प्लस’ ल्याएनन् । ए, बी प्लस र बी ‘ग्रेड’ ल्याउने क्रमशः ३२, ८३ र १६४ मात्र थिए ।

भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. रोहितकुमार श्रेष्ठ भन्छन्, ‘धेरै अभिभावक जाँडरक्सी सेवन र बेचबिखनमा यसरी जोडिएका छन् कि उनीहरू छोराछोरीलाई राम्ररी पढाउनुपर्छ भनेर पनि सोच्दैनन् । बालबालिकालाई पढ्ने वातावरण नै हुन्न ।’

राणाकालमा पूर्व ४ नम्बर (माझकिराँत) का नामले चिनिने भोजपुर राई समुदाय बाहुल्य जिल्ला हो । २ हजार वर्षदेखि किराँत राईहरूको बसोबास रहेको मानिने भोजपुर जिल्लामा जनसंख्याको ३८.४९ प्रतिशत राई समुदायको बसोबास छ । यो जिल्लाले किराँत राईको सभ्यता र संस्कृतिको उद्गमथलोका रूपमा समेत गर्व गर्छ । तर, संस्कार र परम्पराका नाममा अपनाइएका कतिपय चलनले समुदायभित्र डरलाग्दो विकृति निम्त्याइरहेको छ ।

राई समुदायमा जाँड र रक्सीलाई संस्कृति र रीतिरिवाज धान्ने वस्तुका रूपमा ग्रहण गरिन्छ । चलनचल्तीको भाषामा जाँडलाई ‘छ्याङ’ र रक्सीलाई ‘हेङ्मावा’ भनिन्छ । ‘हाम्रो समुदायमा जन्मेदेखि मृत्युपर्यन्त छ्याङ र हेङ्मावा चाहिन्छ । कुलपितृलाई चढाउन, विटुलो चोख्याउन, विवाह, भोजभतेरलगायतका सबै साँस्कृतिक कार्यमा यो अनिवार्य चाहिन्छ । किराँत राईको प्रत्येक घरमा छ्याङ र हेङ्मावा बनाउनैपर्छ’ किराँत राई यायोक्खा भोजपुरकी अध्यक्ष सिर्जना राई भन्छिन्, ‘संस्कृतिलाई पुस्ता दरपुस्तामा हस्तान्तरण गर्दै जाने क्रममा बालबालिकलाई पनि सिकाउनै प¥यो ।’

संस्कृतिलाई अलग गरेर व्यापारका दृष्टिले हेर्दा पनि यो सजिलो व्यवसाय भएको छ । गाउँमा जाँडरक्सीको व्यापार गर्न पसल दर्ता गर्नुपर्दैन । बजार, दोबाटो जहाँसुकै एक जर्किन रक्सी राखेर बेच्न बसे हुन्छ । जतिबेला गर्जो पर्छ, त्यसलाई फुकाउन सजिलो छ यो व्यापार । यसका एकथरी स्थायी व्यापारी हुन्छन्, जो सदरमुकाम र गाउँका बजारमा हुन्छन् । अर्काथरी अस्थायी हुन्छन्, जसले स्थायी व्यापारीको आवश्यकता धानिदिन्छन् । गाउँमा यस्ता अस्थायी व्यापारी घरैपिच्छे जसो हुन्छन् ।

जिल्लाको दक्षिणी भेगका पाङ्चा, बालंखा, दुम्माना, वासिङथर्पु, होम्ताङ, खैराङ, हसनपुर, रानीबास, पूर्वीक्षेत्रको बास्तिम, सानोदुम्मा, ठूलोदुम्मा, जरायोटार, चरम्बी, चम्पे, पश्चिमी क्षेत्रका छिनामखु, खावा, नागी, कोट, गोगने, तिम्मा, अन्नपूर्ण तथा उत्तरतर्फका दोभाने, कुलुङमा जाँडरक्सीको उत्पादन र बजारीकरण बढ्दो छ ।

महिला तथा बालबालिका कार्यालय, भोजपुरकी अधिकृत पुष्पलता उप्रेती भन्छिन्, ‘हामी संख्यामा भन्न सक्दैनौं तर सदरमुकाम, उत्तरी दिङ्लाबजार, दक्षिणी घोडेटारबजार, लेगुवाघाट, सुनबालुवा, कात्तिकेपुल, मचुवाटारलगायतका स्थानमा जाँडरक्सीको उत्पादन र बेचबिखनमा बालबालिकाको प्रयोग धेरै छ ।’

हुन पनि यी गाउँमा जाँडरक्सी बनाउन र बिक्रीवितरण गर्ने काममा छोरीहरू नै धेरै संलग्न भेटिन्छन् । महिला अधिकारकर्मी सविना राई भन्छिन्, ‘घरायसी कामसँगै पैसा कमाउन पनि अभिभावकलाई छोरीहरूले सहयोग गर्नुपर्ने चलन पहिल्यैदेखिको हो ।’ उनका भनाइमा, ‘अब त आफैंले बिक्री गरेको जाँडरक्सी खाएर उत्तेजित हुने अनि आफैंमाथि हिंसा गर्न आइलाग्ने झमेला पनि छोरीहरूले नै बेहोर्नु परिरहेको छ ।’

भर्खरै भएको प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा भोजपुरका सबैजसो गाउँ घुमेका नेपाली कांग्रेस महासमिति सदस्य हेमन्त मुकारुङको बुझाइ पनि त्यस्तै छ । उनी भन्छन्, ‘जाँडरक्सीलाई संस्कृतिका रूपमा लिने परम्पराले बालबालिकामा असर पारेको छ । बालबालिकाहरू आय आर्जन र पढाइ खर्च जुटाउने नाममा जाँडरक्सीसँग जोडिए ।’ एमाले जिल्ला कमिटी सचिव शरणकुमार राई भन्छन्, ‘राई समुदायको शतप्रतिशत घरमा जाँडरक्सी पाक्छ । सत्कार–सम्मानमा बालबालिका प्रयोग हुने भए । यसले उनीहरूको अध्ययन र वृत्ति–विकासमा असर पारिरहेको छ ।’ – विद्या राई / खोज पत्रकारिता केन्द्रबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।