नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न सकेन भने निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई दण्डित नगरेर कसलाई गर्छ ?

लोकेश ढकाल
जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छोडेर केवल सत्ताको राजनीति गर्नेछ यो निरर्थक भएर जानेछ । नेपाली काँग्रेसलाई उसको अग्रिम ऐतिहासिक भूमिकाका लागि मेरा दृष्टिकोणहरू अुनुरूपको यसको इतिहास लेख्न आवश्यक छ ।’ – बीपी कोइराला (जेलजर्नल)

वीपीका यी महान विचारले वीपी कति भविष्य द्रष्टा थिए वा दूरदृष्टिका थिए भन्ने त वुझाउँदछ नै यसले काँग्रेसले कसरी वीपीको विचारलाई छाड्यो र आजको दुःखदायी अवस्थामा आइपुग्यो भन्ने कुरालाई पनि राम्रैसँग प्रष्ट गर्दछ ।

वीपीको राजनीतिक अडान र प्रजातान्त्रिक मूल्य–मान्यता विपरित कम्युनिष्टहरूसँग ज्यादा लहसिंदा आज कम्युनिष्ट शक्ति नेपालमा बलियो भएको राजनीतिक यथार्थ हो । जसको कारण १५ सालको प्रथम संसदीय निर्वाचनमा १०९ सिटमा मुस्किलले ४ सिट जितेका कम्युनिष्ट शक्तिले ०४८ सालको संसदीय निर्वाचनमा सशक्त प्रमुख दलको हैसियत प्राप्त गरे भने अघिल्लो संविधानसभामा झण्डै दुई तिहाई उपस्थिति रह्यो ।

दोस्रो संविधानसभामा बहुमत कम्युनिष्टकै थियो भने राष्ट्रिय राजनीतिमा काँग्रेसको कमजोर उपस्थितिका बीचमा बामगठवन्धन निर्माणपछि हालै सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट शक्तिले झण्डै दुई तिहाई सिट जित्नु र ७ प्रदेश मध्ये ६ प्रदेशमा बामपन्थी सरकार बन्ने अवस्था आउनु सामान्य भएको छ । यी सबै काँग्रेसको स्थापना कालीन राजनीनितक सिद्धान्त र राजनीतिक लाइन र वीपीको राजनीतिक अडान विपरित नेपाली काँग्रेस अनावश्यक क्रान्तिकारी बन्ने नाममा बामपन्थी भाषमा फसेको परिणाम हो ।

राजा ज्ञानेन्द्रको निरंकुश कदमको प्रतिशोधमा नेपाली काँग्रेस कम्युनिष्टहरूसँग नजिक पुग्नु काँग्रेसका लागि कति अभिशाप भयो भन्ने कुरालाई राजनीतिक घटनाक्रमले सिद्ध गरिदिएको छ । माले, मसाले र मण्डले भनेका एउटै हुन् भनेर क्रान्तिकारी भाषण गरेर कहिल्यै नथाक्ने काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सपना देख्नु नै राजतन्त्र विनासको सुत्र बन्यो भने काँग्रेसको बामपन्थी रूझानमा फस्न गइ काँग्रेस पतनको प्रमुख कारण बन्न पुग्यो ।

सैद्धान्तिक रूपमा नेपाली काँग्रेसले लिएको गलत राजनीतिक लाइन र नीतिकै कारण काँग्रेस कमजोर बन्दै कम्युनिष्ट शक्ति बलियो बन्दै गएका हुन् । वीपी कोइरालाको विचार र राजनीतिक अडानलाई परित्याग गरेर अगाडि बढेको कारणबाट नेपालमा कम्युनिष्ट बलिया हुँदै गएका हुन् ।

०१७ को राजा महेन्द्रको निरंकुश कदम पछि काँग्रेसलाई खतम गर्नकै लागि राजा महेन्द्रले कम्युनिष्ट शक्तिलाई बढावा दिएको तथ्य त छँदैछ । वीपी कोइरालाको निधन पछि वीपीको राजनीति अडान र विचार विपरित काँग्रेसले कम्युनिष्टहरूलाई प्रजातान्त्रिक आन्दोलनमा साथ लिन थाल्यो । काँग्रेसले वीपी को निधन पछि ०४२ को सत्याग्रह आन्दोलन र ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूलाई साथमा लिएकै कारण त्यसको परिणामले आम जनताले कम्युनिष्टहरूलाई पत्याउन थाले । मानौं यतिसम्म त ठिकै थियो ।

हुँदा–हुँदा नेपाली काँग्रेसले काँग्रेसकै टाउको काटेर शुरू भएको उग्रबामन्थी शक्ति माओवादीलाई पनि काँधमा बोक्यो । यसो भन्नुको मतलव गिरिजाप्रसाद कोइराला वा काँग्रेसले माओवादीलाई शान्ति प्रक्रिया ल्याएको विरोध गरेको होइन । काँग्रेस जस्तो जिम्मेवार पार्टीले नै गर्नुपर्ने काम थियो, त्यो भयो, त्यसको स्वागत गर्नु पर्छ । विरोध यसमा हो कि आफ्नो सिद्धान्त र आदर्शमा सम्झौता नगरीकन गर्नु पथ्र्यो त्यो भएन । विरोध त्यसमा हो ।

नेपाली काँग्रेसले संसदीय पद्धतिमा आउँदै गरेको प्रविस्पर्धी दल एमालेलाई होच्याउन, साइजमा राख्न वा कमजोर बनाउने नाममा माओवादीलाई अन्तरिम संसदमा एमाले सरह ८३ सिट दिनु ठूलो गल्ती थियो । पञ्चायत कालमा काँग्रेसलाई समाप्त गर्न राजा महेन्द्रले कम्युनिष्टलाई पोषेका थिए, त्यसैको परिणाम एकदिन देशबाट राजतन्त्र नै समाप्त भयो ।

एउटा कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने नाममा माओवादीलाई पोस्दा आज त्यसको हविगत काँग्रेस भोग्दैछ । माओवादीका कमरेड प्रचण्डलाई शीरमा राखेर सरकार सुम्पिनु, स्थानीय तह निर्वाचनमा काँग्रेसी कार्यकर्ता र आम प्रजातन्त्रवादी जनतालाई रूवाउँदै सिद्धान्तहिन ढङ्गले प्रचण्ड पुत्री लगायतलाई जिताउन नेपाली काँग्रेसले माओवादी केन्द्रलाई गरेको समर्थनले काँग्रेसलाई परेको क्षतिको अन्दाजसम्म वर्तमान काँग्रेस नेतृत्वले गर्न सक्दैन ।

नेपाली काँग्रेसलाई जनताले विश्वास गरेको यस पार्टीको सिद्धान्त, विचार र प्रजातन्त्रको लागि निर्वाह गरेको गौरवशाली भूमिका र नेताहरूको उच्च छवि थियो । तर आज नामको नेपाली काँग्रेस त छ तर इतिहासको त्यो गौरवशाली काँग्रेस रहेन । न त्याग र समर्पण भावले भरिएका आदर्शवादी उच्च नेता रहे न नीति, सिद्धान्त र आदर्श रह्यो ।

राष्ट्रियताप्रति दह्रो अडान भएको, प्रजातन्त्रको मूल्यमा कुनै सम्झौता नगर्ने, धर्म पनि मान्ने, राजा पनि मान्ने मध्यमार्गी पार्टी भएको कारणले नै नेपाली काँग्रेसलाई जनताको विश्वास र अपार समर्थन रहँदै आएको थियो । त्यत्रो उच्चराष्ट्रवादी अडान भएको वीपी कोइराला जस्तो महान नेताले नेतृत्व गरेको पार्टीले भारत सरकारले अन्तराष्ट्रिय कानूनको भावना विपरित ५ महिनासम्म कठोर नाकाबन्दी गरेर नेपाली जनतालाई चरम दुःख दिंदा सत्तास्वार्थमा अल्झेको कमजोर नेतृत्वको कारण नेपाली काँग्रेसले त्यो नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न सकेन भने निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई दण्डित नगरेर कसलाई गर्छ ? विशेष गरेर वीपी कोइराला जसले ०७ सालको जनक्रान्ति दिल्लीमा गएर सम्झौतामा टुङ्गिएको विषयलाई लिएर जीवनभर निको मानेनन् उनकै भाई पार्टी सभापति बन्दा दिल्लीमा दौडिएर गएर माओवादीसँग जुन दिन १२ बुँदे समझदारी गरे त्यसै दिनदेखि राष्ट्रियता माथिको काँग्रेसको अटल एवम् दिव्य अडान खुकुलो बन्न पुग्यो भन्दा अन्यथा हुँदैन ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका वर्तमान सभापति शेरबहादुर देउवाको झण्डै दुई वर्षको समय नेतृत्व, पार्टी र सरकार सञ्चालनमा देखिएको कमजोरी, उनका शैली र अभिव्यक्ति आदिले काँग्रेसलाई जनतामा अलोकप्रिय बनाएको कारणले काँग्रेसलाई कमजोर बनाएको र यसबाट स्थानीय तह र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग असर पारेको विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।

नेपाली काँग्रेसको सभापतिले नेतृत्व गरेको वर्तमान सरकार र यस अघि काँग्रेस समेत सम्मिलिन प्रचण्डले नेतृत्व गरेको सरकारका अलोप्रिय कामको नकारात्मक एकमुष्ट असर काँग्रेसलाई मात्र पर्यो । विवादास्पद व्यक्तिलाई राजदूत लगायतमा नियुक्त गर्ने, एउटा डीआईजीको बढुवामा अनावश्यक ढङ्गले सिङ्गो पार्टीलाई विवादमा मुछ्ने, प्रधानन्यायधीश माथिको व्यर्थको अविश्वास प्रस्ताव, नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले स्वतन्त्र न्यायालयको मान्यता विपरित गएर सर्वोच्च अदालतको फैसलाको विरूद्धमा पार्टी केन्द्रीय समितिबाट विचारै नगरी प्रस्ताव परित गर्ने, आम–जनताले के भन्लान् भनेर ख्यालै नराखी नेपालको इतिहासमा नै सबै भन्दा ठुलो(रेकर्ड कायम राख्दै) ६४ जनाको मन्त्रिमण्डल बनाएर लोक हँसाउने लगायतका यस्ता काम भए जसले काँग्रेस पार्टी र यसको नेतृत्वप्रति जनतालाई चरम निरास बनाएको र यसबाट निर्वाचनमा निकै नकारात्मक असर गरेको यथार्थलाई उल्लेख नगरी आँखा चिम्म गरेर बस्न मिल्दैन ।

(कांग्रेस नेता तथा गत चुनावमा काठमाडौं २ (क)का उम्मेदवार ढकालले कांग्रेस पराजयका कारणबारे लेखेको पुस्तिकाको अंश)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।