पाँच वर्ष काँग्रेस सत्ता बाहिर : अब काँग्रेसले छाँया सरकार बनाउँने (भिडियो सहित)

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ ।

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो ।

बैठकमा नेता मीनेन्द्र रिजालले दलको विधानको संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । उक्त मस्यौदा माथिको छलफलमा नेताहरुको धारणा राख्ने क्रम जारी छ । आजै पुनः बस्ने बैठकले सो प्रस्ताव पारित गर्नेछ ।

संसदीय दलको नयाँ संरचना अनुसार पुरानो विधानलाई संशोधन गरी नयाँ विधान ल्याउने सन्दर्भमा छलफल जारी रहेको काँग्रेस नेता भीमसेनदास प्रधानले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबैलाई मिलाएर संघीय संसद् बनेको छ, त्यस अनुरुपको नयाँ विधान बनेपछि मात्रै संसदीय दलको निर्वाचन गर्नुपर्ने भएकाले आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने गरी संसदीय दलको बैठकले आजै विधानलाई टुंगो लगाउनेछ,”–उहाँले भन्नुभयो ।

नेता प्रधानकाअनुसार संविधानको अक्षरस भावनाअनुसार विधानलाई कसरी परिमार्जन गर्ने, नयाँ परिस्थितिमा उपनेताको चयन र महिलाको प्रतिनिधित्वको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नयाँ विधानले स्पष्ट पार्नेछ । काँग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने बताएको छ ।

काँग्रेसका अर्का नेता बालकृष्ण खाँडका अनुसार संसदीय दलको व्यवस्थापनका लागि संघीय संसद्को विधान परिस्कृत गर्नुपर्ने भएकाले त्यसबारे प्रस्तुत मस्यौदामाथि नेताहरुले छलफल र सुझाव दिने क्रम जारी रहेकाले केहिबेरपछि बस्ने बैठकले विधानलाई पारित गर्नेछ ।

सांसदहरुले पार्टीलाई सशक्तरुपमा अघि बढाउन सहमतिको आधारमा संसदीय दलको नेताको चयन हुनुपर्ने र सहमति हुन नसकेको खण्डमा पनि अत्यन्तै स्वस्थ्य प्रतिस्पर्धाबाट नेताको चयन होस् भन्ने परामर्श दिएको नेता खाँडले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको संसदीय दलको बैठकको सुरुमा निर्वाचित भएर आएका सबै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधि तथा समस्त मतदातालाई सभापति देउवाले बधाई ज्ञापन गर्नुभएको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिमा खास गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धन तथा संविधानको रक्षाका लागि बहुलवादमा आधारित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा बोल्ने अधिकांश नेताले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई अगाडि बढाउने क्रममा दुवै सदनमा काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका थिए ।

पाँच वर्ष काँग्रेस सत्ता बाहिर : प्रवक्ता शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आगामी पाँच वर्षसम्म सत्ताको बागडोर नलिने पक्षमा रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘संघीयतामा प्रेसको भूमिका’ विषयक कार्यक्रममा उहाँले सत्ता बाहिर बसेर लोकतन्त्रको सुदृढीकरण, संघीयता र संविधानको कार्यान्वयनमा पार्टी गोलबद्ध हुने बताउनुभयो ।

उहाँले नेपाली राजनीतिमा परिवर्तनको मियोका रुपमा स्थापित काँग्रेसलाई आगामी पाँच वर्षमा अब्बल पार्टीमा दर्ज गराई पार्टीका तलदेखि माथिसम्मका कुनै नेताले विश्राम नलिने उद्घोषसमेत गर्नुभएको छ ।

सो अवसरमा प्रवक्त शर्माले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश शर्मा, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य गोविन्द धिताललाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेसले पु¥याएको योगदानलाई कसैले भुल्न नहुने चर्चा गर्नुभयो ।

काँग्रेसले छाँया सरकार बनाउँने

‘वेष्टर मिनिस्टर’ प्रणालीमा सरकारलाई ‘चेक एण्ड व्यालेन्स’ गर्न विपक्षी दलले छायाँ सरकारको अवधारणालाई प्रयोगमा ल्याउने गर्छन । निर्वाचन पछि कमजोर बनेको काँग्रेसले पनि छायाँ सरकारको अभ्यास सुरु गर्ने भएको छ । बामगठबन्धनको सुविधाजनक बहुमत र संघीय फोरमसँग कुरा मिलेको खण्डमा बन्ने दुई तिहाइ बहुमतको सरकारलाई लक्षित गर्दै काँग्रेसले छायाँ सरकारको अभ्यास गर्ने बताएको छ । थप जानकारि भिडियोमा हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।