सरकारमा सहभागी हुन फोरमले माग्यो उर्जा सहित तीन मन्त्रालय !
काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुन तीन मन्त्रालय माग गरेको छ। नयाँ सरकार दुई तिहाइको पुर्याउने लक्ष्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दल फोरमलाई सरकारमा ल्याउने कसरत गरिरहँदा फोरमले तीन मन्त्रालयमा दाबी गरेको हो ।
फोरमले दाबी गरेको सूचना तथा सञ्चार र ऊर्जा मन्त्रालयमा सत्तापक्षीय दल एमाले र माओवादी केन्द्र सहमत हुन नसक्दा सरकार र संघीय समाजवादी फोरमको पछिल्लो छलफल निष्कर्षविहीन भएको छ। छलफलमा सहभागी एक नेताका अनुसार फोरमले परराष्ट्रसहित तीन मन्त्रालय मागेको छ।
सरकारले फोरमलाई परराष्ट्रका साथै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित सरकारमा आउन आग्रह गरेको छ । तर, फोरमले जनतासँग जोडिएको सेवामुखी मन्त्रालय अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयमा दाबी गरेको छ ।
पछिल्ला बैठकमा सहभागी एक नेताका अनुसार, फोरम अध्यक्ष उपेन्द्र यादवले परराष्ट्रसहित जनतासँग जोडिएक ऊर्जा र सेवासँग जोडिएको सूचना तथा सञ्चार मन्त्रालयमा बार्गेनिङ गरिरहेका छन् ।
फोरमका एक नेताका अनुसार, दुई पटक उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागी भएका कारणले उपप्रधानमन्त्री सहित सरकारमा सहभागी गराउनुपर्ने अध्यक्ष यादवको माग छ ।
अध्यक्ष यादवले प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा आफूलाई राख्नुपर्ने अडान सत्तापक्षीय दलसमक्ष राखेका छन् ।


