माओवादी केन्द्रभित्र सभामुखको बहस सुरु, तीन आकांक्षी, प्रचण्डको चाहाना महरा, श्रेष्ठ र वादलको लगाव गिरिराजमा
काठमाडौं । ब्यवस्थापिका संसदले निर्वाचनको मिति तोकेपछि नेकपा माओवादी केन्द्रभित्र सभामुखको बहस सुरु भएको छ । एमाले र माओवादी केन्द्रले राष्ट्रपति र सभामुख पदको बाँडफाँड गरेका छन् । बाँडफाँडमा सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।
प्रतिनिधिसभाले सभामुखका लागि २६ फागुनको मिति तय गरेको छ भने उम्मेद्धारी दर्ताका लागि २५ फागुनको समय निर्धारण गरेको छ । तीन दिनभित्र सभामुख चयन गर्नपर्ने भएपछि माओवादी केन्द्रमा बहस सुरु भएको हो ।
माओवादी केन्द्रबाट सभामुखमा तीन जना प्रतिस्पर्धी देखिएका छन् । नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र पूर्वसभामुख ओनसरी घर्ति प्रमुख दावेदार छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महराका पक्षमा भएपनि नेता नारायणकाजी श्रेष्ठ भने पोखरेलका पक्षमा छन् । यी दुई नेतालाई चुनौति दिन घर्तिले पनि आफ्नो सशक्त दावी पेश गर्न थालेकी छिन् ।
पति बर्षमान पुन बर्तमान सरकारको मन्त्री भए उनी ब्याक हुने सम्भावना छ । पुन मन्त्री नभए घर्ति सभामुख पद छाड्ने पक्षमा छैनन् । तर बर्षमान पुनले भने आफुले चाहेको मन्त्रालय नपाए मन्त्री नबन्ने संदेश दाहाललाई दिइसकेका छन् । पत्नी घर्तिलाई पुन सभामुख बनाउन उनले प्रचण्डलाई यस्तो दवाव दिन थालेको स्रोतले बताएको छ ।
तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले भने महरालाई सभामुख बनाउने योजना बनाएका छन् । शान्त र शालिन स्वभावका महरालाई सभामुख बनाउन उपयुक्त हुने ठहर दुवै अध्यक्षको छ । तर माओवादी केन्द्रका नेता श्रेष्ठ र गृहमन्त्री थापाले भने गिरिराजमणि पोखरेलको नाम अगाडी सारेका छन् ।
आन्तरिक गृहकार्य सकेपछि मात्र प्रचण्ड पार्टी हेडक्वाटरको बैठक बोलाउने पक्षमा छन् । महराका पक्षमा पहिले वातावरण शिर्जना गर्ने र त्यसपछि मात्र बैठक बोलाउने तयारी गरेको स्रोतले बताएको छ । एस काठमाडौं


