नेकपा ९ स्थानमा विजयी, कांग्रेसले खाता खोलेन

काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा नौ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । कांग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।

धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवारले ८६८ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका उमेदवारले ५८२, राप्रपा (संयुत्त)ले ६ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।

रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।

सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुनर्वास नगरपालिका–३मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काङ्ग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।
खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपा निर्वाचित भएको छ । त्यहाँ नेकपाकी उमेदवार शिवकला राई विजयी भइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।