नायिका श्वेता खड्काको स क्रियतामा चिटिक्क माझी बस्ती : नयाँ घर सरे माझी

नारायण ढुङ्गाना : रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटि क्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ ।

भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ। दशैँको फूलपातीको दिन नयाँ घर सरेकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान् ज्ञानबहादुर मङ्गलबार साँझ खाना पकाउँदै थिए। नयाँ घर पाउँदा उनीहरु खुशी देखिए । उनीहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्छिन्, “घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।”

अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उनी ढुक्क छिन् । सरकारबाट आएको रु तीन लाखमा चार लाख ऋण थपेर घर बनाएको उनले भनिन्। छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सरेका छन। छ जनाको परिवार बस्ने उनले भने, “साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ ।” उनले पनि माटोढुङ्गाको त्यो दुईतले घर भने कहिल्यै भुल्न नसक्ने बताए ।

परिवारका सबै सदस्य घर बाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको रु चार लाख ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताउँछन् । जुना माझी नयाँ घरमै विवाह गरेर भित्रिइन् । उनले टहरो देख्न पाइनन् । तीन जनाको परिवार लाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन भन्छिन् जुना । निर्माण भएको नमूना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन् ।

यहाँ रहेका ढुङ्गामाटोको दुईतले घर विसं २०७२ को भूकम्पले क्षणभरमै भत्कायो । त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीको अहिले मुहार फेरिएको छ । बस्ती साँच्चै नै मन लोभ्याउने खालको छ । दायाँ बायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ । सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ ।

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन। आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ ।

ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन। चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन् । बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ ।

नायिका खड्का बाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आउनु भएका निराजन सापकोटाले बताए । “श्वेता श्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटा भन्छन् ।

सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडक लगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनु पर्छ ।

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउँछन् । सरकारको बजेट चलाइसके पछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्काल का लागि प्रयोग गरिएको हो । उनी थप्छन्, “बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो ।

यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ । काम पनि गाउँले आफैँले गरेका छन् । गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन । काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु । बस्तीमा बाटोसहित बालबगैंँचा सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच–सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ । आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुस्किल छ ।

अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव¬इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्ड अनुसार नै बस्ती निर्माण भइरहेको बताउँछन। यहाँको सडक लगायत पूर्वाधार निर्माण कात्तिकबाट शुरु भएको र त्यसको म्याद चैत १सम्म रहेको उहाँले बताउनु भयो। बस्ती निर्माणको शुरुको लागत रु१२ करोडको हो। अन्य पूर्वाधार निर्माणमा रु चार करोड थियो। अहिले भने लागत बढेको जनाइएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।