यसरी छा डिए मर्स्याङ्दीमा ५७ हजार माछाका भुरा
लमजुङ । मर्स्याङ्दी नदीमा माछा लोप हुन नदिन ५७ हजार माछाका भुरा छाडिएको छ। आज बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाले नदीमा माछा छाडेको हो। मध्यमर्स्याङ्दी आयोजना निर्माणका क्रममा बाँधमा माछा आउजाउ गर्न मिल्ने गरी संरचना नबनाइएकाले तल्लो भेगको उपल्लो भेगमा माछा आउन नसकेपछि माथिल्लो भेगको ह्यचरीमा भुरा छाडिएको आयोजना केन्द्र प्रमुख शिवकुमार शाहले बताए ।
उनले भने, “यहाँ वातावरणमा प्रभाव परेकाले माछा लोप हुँदै गएका र लोप हुनबाट जोगाउनका लागि माछाको उत्पादन गर्ने लक्ष्यले भुरा माछा छाडेका छौँ । गर्दी, हाडे, ठेड गरी तीन जातका माछा नदीमा छाडेको आयोजनाले जनाएको छ । स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा रहेको माछा ल्याएर छाडिएको आयोजना केन्द्र प्रमुख शाहले बताए ।
चार वर्षयता यहाँ पहिलो पटक माछाका भु’रा नदीमा छाडेको आयोजनाले जनाएको छ । वर्खामा ड्याम साइडको गेट खोलेका बेलामा भने तलका माथि र माथि रहेका माछा तल आउ जाउ गर्न सक्ने बताइएको छ । सन् २००० मा निर्माण कार्य थालनी गरेर सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको थियो । आयोजना रु २७ अर्ब २० करोड लगानीमा निर्माण भएको थियो ।


