एक बा लिकालाई स्कुलसम्म पुर्याएको त्यो भा इरल फोटोको वा स्तविकता यस्तो छ
बीबीसी । लजालु स्वभावकी पाँच वर्षीया दिभ्या अहिले आफ्नो टोलछिमेककी सेलिब्रेटी बनेकी छन् । एउटा स्थानीय सरकारी स्कुल बाहिर कचौरा लिइ उभिएर हेरिरहेको उनको तस्बिर एउटा तेल्गु दैनिकले छापिदिएपछि उनी भाइरल भएकी हुन् । उक्त तस्बिरको तल ‘भोको हेराइ’ भनि लेखिएको थियो जसबारे भारतभर चर्चा भयो तर त्यस भाइरल तस्बिर पछाडिको वास्तविक कथा भने कसैलाई थाहा थिएन ।
जोसुकैलाई पनि भावुक बनाइदिने सो तस्बिर बाल अधिकारका कार्यकर्ताहरुले फेसबुकमा पोस्ट गरिदिएपछि लाखौँपटक शेयर भएको थियो । त्यसले भारतमा अझैपनि बच्चाहरु खान र शिक्षा लिने अधिकारबाट बञ्चित छन् भन्ने देखाएको उनीहरुको भनाइ छ । यसरी भाइरल भएको त्यो तस्बिर यति चर्चामा आयो कि त्यसैको प्रभाव स्वरुप भोलिपल्ट नै दिभ्यालाई सो स्कुलले भर्ना लियो । तर अर्कोतर्फ दिभ्याका पिता एम लक्समन भने सो तस्बिर र मानिसहरुले देखाइरहेको दयाप्रति पटक्कै खुसी थिएनन् । झाडु लगाउने काम गर्ने उनकी पत्नी र उनका लागि यो घटना अत्यन्तै अन्यायपूर्ण भएको उनले बताएका हुन् ।
उनले बीबीसीसँगको कुराकानीमा भने, “मलाई त्यो तस्बिर देखेर अत्यन्तै दुःख लाग्यो । किनकी त्यसमा दिभ्यालाई कुनै परिवार नभएको, बाबुआमा नभएको भोको अनाथका रुपमा प्रस्तुत गरियो जबकी उसका बाबुआमा दुवै उसको भविष्यकै लागि दिनरात मिहिनेत गरिरहेका छन् ।” लक्समनका अनुसार उनीहरु दिभ्यालाई ६ वर्ष पुगिसकेपछि पढ्न होस्टल पठाउने तयारीमा थिए जहाँ तिनका अरु दुई छोरी पनि पढिरहेका छन् । उनीहरुको अर्को एक छोरा पनि छ जसले भर्खरै मात्र स्कुलको पढाइ सकेर कलेजमा भर्ना हुने तयारीमा छ र बुवालाई पनि मद्दत गरिरहेको छ जो फोहोर टिप्ने काम गर्छन् ।
दिभ्या उनको परिवारसँग एक कोठाको सानो झुपडीमा बस्छिन् जुन त्यो स्कुल भन्दा १०० मिटर टाढा रहेको छ । दिभ्याको तस्बिर पनि त्यहीँ लिइएको थियो । सो टोलमा बस्ने ३०० परिवार दैनिक पारिश्रमिकको भरमा जीवन गुजारिरहेका छन् भने सबैका छोराछोरी नजिकैको त्यही सरकारी स्कुलमा पढ्छन् । लक्समनका अनुसार उनी र उनकी पत्नीले गरेर महिनामा १० हजार रुपैँया कमाउने गरेका छन् जसले खान, लुगादेखि बच्चाहरुको पढाइ पनि धान्नुपर्ने हुन्छ । तर सरकारी स्कुलको पढाइ निःशुल्क छ । लक्समनका अनुसार उनी आफैँ पनि बिना बाबुआमा हुर्किएको हुँदा बाल्यकालभरि संघर्ष गर्नुपरेको थियो । यसैकारण आफ्ना बच्चाहरुलाई चाहिँ उनले सधैँ राम्रो जीवन दिलाउन र स्कुल पठाउन चाहेको बताए । यस्तोमा भाइरल भएको त्यो तस्बिरले धेरै चित्त दुखाएको उनी बताउँछन् किनकी आफ्ना बच्चाहरुका साथै उनले आफ्ना दाजुका पाँचजना छोराछोरी पनि पालिरहेका छन् । उनी भन्छन्, “केही समय अगाडि मेरा दाजुभाउजुको मृत्यु भएकाले उनीहरुका पाँचैजना छोरछोरी अनाथ नहोऊन् भनेर मैले जिम्मामा लिएको हुँ । त्यसैले मैले उनीहरुलाई पढाउन होस्टेलमा भर्ना गराएको छु र सम्पूर्ण रेखदेख मैले नै गरिरहेको छु । ”
यस्तोमा उनलाई दिव्या किन हातमा कचौरा लिएर त्यस दिन विद्यालय गएको भन्ने प्रश्न गर्दा उनले अलगै कथा सुनाए – “वास्तवमा सरकारी विद्यालयहरुमा दिउँसोको समयमा निःशुल्क खाजा दिइन्छ । र त्यहाँ पढ्ने विद्यार्थीका भाइबहिनीलाई पनि खाना बाँड्ने गरिएको छ । त्यसैका लागि हाम्रो टोलका प्रायः बच्चाहरु नजिकैको विद्यालय जाने गरेका छन् । तरपनि दिभ्या सधैँ त्यहाँ जाँदिन थिइन् । यसकारण त्यो दिन उनी स्कुल गएको मौकामा कसैले तस्बिर लिएको हुन सक्छ ।” उनको यस भनाइलाई विद्यालयका शिक्षकहरुले पनि पुष्टि गरेका हुन् । तिनका अनुसार कतिपय विद्यार्थीहरुले घरबाट पनि खाजा ल्याउने हुँदा बाँकी रहेका खानेकुरा साना बच्चाहरुलाई दिने गरिएको छ । यस घटनापछि लक्समन र उनका छरछिमेकहरुले दिउँसोको समयमा बच्चाहरु हेर्ने मान्छे नभएकाले पनि समस्या भएको बताएका हुन् । र सरकारले चाँडै नै बालबालिकाका लागि ‘डे केयर’ संस्था स्थापित गराउनुपर्ने पनि बताए । त्यसैले यो घटनाले सरकारको ध्यानाकर्षण गराउने अपेक्षा रहेको उनको भनाइ छ ।
अहिले स्कुल भर्ना भएकी दिभ्या उत्साहित विद्यार्थी बनेकी छन् । यस्तोमा तस्बिरले आफ्नो धेरै चित्त दुखाएपनि त्यसका केही परिणाम चाहिँ फलदायक पनि भएको उनले बताएका हुन् । उनी भन्छन्, “त्यही फोटोले गर्दा अहिले दिभ्याको उमेरका अन्य सबै बालबालिकाहरु स्कुल भर्ना भइरहेका छन् । त्यसले मलाई खुसी बनाएको छ । ”


