जलकुम्भी झार निकाल्दै राहत लिँदै जलाहारी
–हरि बाँस्तोला
कास्की । फेवातालको सुन्दरता र संरक्षणमा चुनौती बनेको जलकुम्भी झार यतिखेर यहाँका जलाहारी समूदायका लागि भने राहत पाउने माध्यम बनेको छ । तालमा माछा पाल्ने, महाजाल थापेर तालका माछा छोप्ने र बजारमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका फेवाताल आसपासका जलाहारी समूदायका लागि जलकुम्भी झार झिक्नु यतिखेर दैनिकी जस्तो बनेको छ नै त्यसबाट प्राप्त राहतले बिहान बेलुकी छाक टार्न पनि सहयोगी बनेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीसँगै माछा बिक्री हुन छोडेपछि चिन्तित बनेका जलाहारी समूदायका व्यक्तिका लागि फेवातालको सिरानमा सप्रेको जलकुम्भी झार निकाल्ने काम रोजगारको राम्रै विकल्प बनेको हो ।
पोखरा महानगरपालिका सरसफाइ महाशाखाको आर्थिक सहयोग एवं वडा नं १८ को समन्वयमा हर्पन मत्स्य सहकारी संस्थाद्वारा आयोजित कार्यक्रमअन्तर्गत माछापोखरी आसपासमा अवस्थित घोलमा मौलाएको जलकुम्भी झार निकालिएको हो । प्रत्येक वर्ष वर्षात्को समयमा फेवाताललाई कुरुप बनाउने जलकुम्भी झारको मुख्य स्रोतका रुपमा रहेको सो क्षेत्रको एक किलोमिटर लम्बाइ र २० मिटर चौडाइको क्षेत्रबाट पहिलो चरणमा झार निकालिएको हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर जलाहारीले जानकारी दिए ।
उनका अनुसार महानगर सरसफाइ शाखाको पहिलो चरणमा रु दुई लाख ६२ हजार प्राप्त भएको थियो । पन्ध्र दिनसम्म दैनिक ५० जनाको सङ्ख्याका मजदुरले काम गरेर जलकुम्भी झार सफा गरिएको हो । मानिससँगै डुङ्गाको सहायताले झार निकाल्ने गरिएको छ । ‘बन्दाबन्दीले भोकसँग सङ्घर्ष गरिरहेका जलाहारी समूदायका लागि महानगरपालिकाले रोजगारी दिएर जीविकोपार्जनमा सहयोग गर्दै आएको छ’, उनले भने, ‘तालको सुन्दरता पनि बढ्ने र जलाहारी समूदायको चुलो पनि तात्ने काम भएको छ ।’
दोस्रो चरणमा पनि महानगरबाट रु दुई लाख ६२ हजार प्राप्त भएको बताउँदै उनले त्यसबाट अन्यत्र स्थानमा फैलिएको जलकुम्भी झार निकाल्ने गरिएको बताए । उनका अनुसार जलकुम्भी झार निकाल्दा महिला एवं पुरुषले दैनिक रु ३५० का दरले समान ज्याला पाउने गरेका छन् । जलाहारी समूदायका अगुवा ज्ञानबहादुर जलाहारीका अनुसार विगत लामो समयदेखि माछामा आधारित समूदायले फेवातालको जलकुम्भी र करौते झार श्रमदान गरी निकाल्दै आइएकामा यसपटक भने महानगरले सहयोग गरेको छ ।
हर्पन खोलाको भङ्गालो खपौदीतर्फ आएपछि केजमा माछा पाल्ने व्यवसायसमेत सङ्कटमा परेको छ । सहयोग पाउने हो भने तालमा आएर जलकुम्भी झार निकाल्न जलाहारी समूदाय तयार रहेको उनको भनाइ छ । यस क्षेत्रमा जलाहारी समूदायलाई पहिलो चरणमा ६० परिवारलाई रु दुई हजारबराबरको राहत प्याकेज वितरण गरियो । छुटफुट रहेका केही परिवारलाई ३० बोरा चामल वितरण गरिएको पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । गुणस्तर नेपाली संस्थामार्फत बेल्जियम नागरिक सविनले पनि अप्ठेरोमा परेकालाई रु एक लाख नगद प्रदान गरेका थिए ।
‘फेवातालको सरसफाइ पनि हुने र बन्दाबन्दीका अवस्थामा जलाहारी समूदायलाई राहात पनि पुग्ने हुँदा रोजगार प्रदान गर्दै राहत वितरण गरिएको हो’, उनले भने, ‘तालको सिरान र दायाबायाँ पानीका घोलमा देखिएको जलकुम्भी झार जलाहारी समूदायलाई परिचालन गरी निकाल्ने योजना छ ।’ जापानी सहयोग नियोग जाइकाले २०६३ र २०६४ मा गरेको अध्ययनअनुसार तालको उपल्लो तटीय क्षेत्रमा कृषकले उत्पादन वृद्धिका लागि खेतबारीमा प्रयोग गरेको युरिया र अन्य रासायनिक मलका कारण फेवातालमा जलकुम्भी झार फैलिएको जनाइएको छ ।
प्रतिवेदनका अनुसार ताल वरिपरिको खेतमा रासायनिक मलको प्रयोग, तालमा मिसिने ढल, तालमा हुने फोहर, तालको मुहानमा हुने भूक्षयका कारण फेवातालमा जलकुम्भी झार बढेको उल्लेख गरिएको छ । फेवातालमा लगभग पाँच दशकअघिदेखि देखिएको जलकुम्भी झार नियन्त्रण गर्न तालका अन्य वनस्पति र जीवजन्तुको प्रजनन नबिगार्नेगरी यसको व्यवस्थापन हुनुपर्ने विज्ञहरूको साझा धारणा छ । तालबाट झिकेको झारलाई कम्तीमा तीन किलोमिटर दूरीमा लगेर डढाएर नष्ट गरिनुपर्ने उनीहरूको भनाइ छ । रासस


