छथर जोरपाटीले शुरु गर्यो अपांग परिचय–पत्र वितरण
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी धनकुटाले आजबाट अपाङ्ग परिचय–पत्र वितरण शिविर शुरु गरेको छ । करुणा फाउण्डेशन काठमाण्डौको प्राबिधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट शुरु गरेको हो ।

गाउँपालिकाले ४ जनाको बिशेषज्ञ टोली सहित प्रारम्भिक जाँच गरेर परिचय–पत्र बितरण शुरु गरेको हो । शिविरको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले परिचय–पत्र भत्ता लिनका लागि मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि भएकाले शिविरमा सबै खालका अपांगता भएकाहरुलाई सहभागी हुन अनुरोध गर्नुभयो ।
‘कस्तो खालका अपांगता भएकाहरुलाई के साधन तथा सामाग्री वितरण गर्ने भन्ने पहिचान गर्न पनि परिचय–पत्र वितरणमा सहभागी हुन आवश्यक छ ।’–उहाँले भन्नु भयो ।
वडा अध्यक्ष पुखमान आलेको अध्यक्षतामा सम्पन्न उत्घाटन समारोहमा करुणा फाउण्डेशनका प्रमुख कृष्ण प्रसाद साप्कोटाले कस्तो अपांगता भएकाले कुन प्रकारको परिचय–पत्र पाउने भन्ने कुराको जानकारी दिनुभएको थियो ।
कार्यक्रमपछि सन्चालित शिविरमा पालिका उपाध्यक्ष तथा अपांग समन्वय समितिका संयोजक भीमकला लिम्बू,महिला बालबालिका शाखाका प्रमुख एलिना निरौला,स्वास्थ्य संयोजक नेत्रबहादुर श्रेष्ठ लगाएतको सक्रियतामा परिचय–पत्र बितरण गरिएको छ ।
शिविरमा जनरल फिजिसियन प्रसंशा न्यौपाने,आँखा रोग बिशेषज्ञ सचिन लम्साल,नाक,कान,घाँटी रोग बिशेषज्ञ ललन कुमार चौधरी र फिजियो थेरापिस्ट अर्पना राईको टोलीले परिचय–पत्र वितरणका लागि जाँच गरिरहेको छ ।
गाउँपालिकाको तथ्यांक संकलनमा ३२१ अपांग रहेको पालिकामा वडा नं. १ मा मात्र ८६ जना अपांगता भएका ब्यक्तिहरु रहेको गाउँपालिकाले जानकारी दिएको छ ।


