जानेलाई बाई–बाई आउनेलाई एक दुहुना गाई अनुदान कार्यक्रम
नारायण कुमार राई/धनकुटा,१३ माघ । सामान्यतया मान्छेहरु गाउँ छाडेर शहर पस्ने गर्दछन् तर धनकुटाको छथर जोरपाटी गाउँपालिकामा भने नगर छाडेर गाउँमा बसाई सरेर आउने क्रम बढ्न थालेको छ ।
बसाईसराई रोक्नका लागि गाउँपालिकाले सन्चालन गरेको दुहुना गाई उपहार कार्यक्रम सन्चालनमा ल्याएपछि जिल्लाका नगर र अन्य जिल्लाहरुबाट गाउँमा कृषि कर्म गर्न बसाई आउन थालेका हुन् । गत आर्थिक बर्ष ०७६/०७७ बाट पालिकाले सन्चालन गरेको ‘जानेलाई बाई–बाई आउनेलाई एक दुहुना गाई अनुदान’कार्यक्रम शुरु गरेको थियो ।
उक्त कार्यक्रम सन्चालनमा आएपछि गत बर्ष जिल्लाका ३ नगरपालिका छाडेर आधा दर्जन भन्दा बढी परिवार छथर जोरपाटी बसाई सरेर आएका थिए । पशुपन्छि बिकाश शाखा अधिकृत राजकुमार राईका अनुसार धनकुटा नगरपालिका,पाख्रिबास नगरपालिका र महालक्ष्मी नगरपालिकाबाट गत बर्ष ९ परिवार बसाई आएका थिए ।
यस बर्ष गएको पुस २५ गते पालिकाले आव्हान गरेको सार्वजनिक सूचनापछि ४ परिवारले बसाई आउन आवेदन गरेको राईले जानकारी दिनुभयो । माघ १५ गते सम्म समय सिमा राखेर गरिएको आवेदनमा धनकुटा नगरपालिकाबाट २,महालक्ष्मी नगरपालिका धनकुटाबाट १ जना र संखुवासभाको मादी नगरपालिकाबाट १ जनाले आवेदन दिएको राईले जानकारी दिनुभयो ।
पालिकाले रितपूर्वक बसाई सराई आएका परिवारलाई दुहुनो गाई किन्न ६१ हजार अनुदान दिनेगरेको छ ।


