श्रीपञ्चमी पर्वको रौनक हराउँदै

गोपालप्रसाद बराल, महोत्तरी, २ फागुन । मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ । यसपालि कोभिड–१९ महामारीको निहुँ भनिए पनि पर्वको उल्लास भने केही वर्ष पहिलेदेखि नै पातलिँदै गएको पाका मैथिल बताउँछन् ।

एक महिना पहिलेदेखि नै सरस्वती पूजनोत्सवको तयारी गर्ने विद्यालय यसपालि महामारीका कारण सबै खुलिसकेका छैनन् । केही विद्यालय भर्खरै खुल्न थाले पनि महामारीको डर नसकिएको हुँदा विद्यार्थी यसको तयारीमा लाग्न नसकेका हुन् । यही आउने मङ्गलबार परेको श्रीपञ्चमी पर्वबारे विद्यार्थीको चहलपहल कतै नदेखिएको सर्वसाधारण बताउँछन् । “श्रीपञ्चमी आउन महिना दिनपूर्व नै विद्यार्थी सरस्वती पूजनोत्सवको चन्दा भन्दै घरघर आउँथे”, पर्वबारे पुराना कुरा सम्झँदै भङ्गाहा नगरपालिका–४ रामनगरका ५५ वर्षीय किसान मोहन खाँ थारू भन्नुहुन्छ, “विद्यार्थीको यो तयारीले नै श्रीपञ्चमी आएको छनक दिन्थ्यो, अब त्यो हरायो ।” यसपालि महामारीको निहुँ भनिए पनि सामूहिकरूपमा सरस्वती पूजनोत्सव उल्लासका साथ मनाउने परम्परा केही वर्ष पहिलेदेखि नै पातलिँदै गएको थारूको भनाइ छ ।

सरस्वती पूजनोत्सवमा विद्यार्थीको चहलपहलसँगै मिथिलामा सरस्वतीका मूर्ति बनाउने कलाकारको पनि यसैबेला राम्रो कमाइ हुने गथ्र्यो । सांस्कृतिक पर्व र परम्पराबारे चासो घट्दै गएसँगै मूर्ति बनाउनेहरु वैकल्पिक अन्य पेशामा बाँधिन थालेपछि बस्तीपिच्छे विगतमा बाक्लै देखिने मूर्तिकार अब देखिन छाडेका छन् । हिन्दू परम्पराकी विद्याकी देवी सरस्वतीको पूजाआराधना गरेर मनाइने यो पर्वकै दिन स–साना नानीहरुलाई अक्षरारम्भ गराइने परम्परा छ । माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिका लेखपढमा तीक्ष्ण हुने मैथिल जनविश्वास छ ।

मिथिलामा यो पर्व कृषिसँग पनि सम्बन्धित छ । श्रीपञ्चमीकै दिन आउने एक वर्ष अवधिका लागि कृषि श्रमिक र कृषि घरेलु औजार (हलो, कोदालो, फाली, कँचिया, दावआदि) मर्मत गर्ने लोहार (यस्ता औजार बनाउने र मर्मत गर्ने मिथिलाको जातिविशेष) छनोट गर्ने परम्परा छ । किसान, कृषि श्रमिक र लोहारबीच पारिश्रमिक र सुविधाबारे सहमति भएपछि एक वर्षसम्म (आउने वर्षको श्रीपञ्चमीसम्म) काम गर्ने÷गराउने टुङ्गो लाग्छ । यस्तो टुङ्गो लागेपछि किसानले सहमति भएका कृषि श्रमिक र लोहार (मिस्त्री) लाई वरण गरेर पूजा गर्दै (अबिरको टीका लगाउने) भोजन गराएर दक्षिणा दिने मैथिल परम्परा छ । तर यहाँका बस्ती÷बस्तीमा कृषिकार्यमा लाग्ने युवा जनशक्ति विदेशिएका र लोहार कर्ममा नयाँपुस्ताले रुचि नदेखाएपछि मान्छे नभेटिएको आम किसानको गुनासो छ ।

“श्रीपञ्चमी पर्वकै दिन कृषि मजदुर र लोहार वरण गर्ने परम्परा त हो नि ! तर, कति दिन भयो यस्ता मान्छे खोजेको भेट्टाइएन”, भङ्गाहा–४ का ८० वर्षीय किसान मोती महतो दिक्दार हुँदै भन्नुहुन्छ, “यो खेतीजस्तो दुख्याहा कर्म केही रहेनछ ।” आफ्ना बस्तीका कृषि कर्मका युवा जनशक्ति काम गर्न भारतको हरियाणा, पञ्जाब गएका हुँदा कृषि श्रमिक र लोहार बस्तीका युवा अन्य वैदेशिक रोजगार तथा अन्य पेशामा लागेपछि अब कँचिया, कोदालो, दाव उद्याउने, बिँड बनाइदिने, फाली पिटिदिने र हलो जुवाका सामान्य मर्मतको काम गर्ने मान्छे पाउन छाडिएको महतोको भनाइ छ । जति खोजे पनि मान्छे नपाएपछि यसपालि श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नसकिने महतोले बताउनुभयो ।

कृषि मुख्य पेशा अँगालेका महोत्तरीसहित मिथिला क्षेत्रका मध्यपूर्वी तराईका सबैजसो जिल्लाका किसानको यो साझा समस्या बनेको छ । सिँचाइ, मलखाद, बीउबिजनदेखि श्रमिकसमेत पाउन छाडिएपछि थुप्रै किसानले खेती गर्न छाडेका छन् । यो समस्याले कृषिसम्बद्ध चाडवाडको रौनक हराउँदै गएको बर्दिवास नगरपालिका–९ का ७० वर्षीय किसान ब्रह्मदेव महतो बताउनुहुन्छ ।

शिक्षा र कृषिबाहेक श्रीपञ्चमी पर्व ऋतु परिवर्तनसँग पनि मिथिलामा जोडिन्छ । श्रीपञ्चमीका दिनदेखि वसन्त ऋतु शुरु हुने मान्यतामा एकापसमा अबिर लगाएर वसन्त उत्सव मनाउने मैथिल परम्परा छ । यो परम्परा पनि नयाँ पुस्ताको सहभागिता हुन छाडेपछि हराउँदै गएको यहाँका बूढापाका बताउँछन् । घरघरैजसो आयोजन हुने वसन्त उत्सव र वसन्त कथा श्रवण अब पछिल्लो पुस्ताका लागि इतिहास बन्ने पाका मैथिलको टिप्पणी छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।