बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक

डोटी, जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् ।

जिल्लामा रहेको छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् ।

वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् । विगतदेखि डोटीलगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडीप्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त अभियानको अन्त्यका लागि सक्रिय भएको अभियानमा सहभागी अभिभावक भागादेवी लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौँ, बालविवाह अन्त्य गरेरै छाड्छौँ ।” छोराछारीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानूनी दायरामा ल्याउन सघाउने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कानूनी व्यवस्थाले बिहेबारीमा ढिलाइ हँुदा किशोरीले अभिभावकको मञ्जुरीबिनै आफूखुशी २० वर्ष नपुग्दै भागीविवाह गर्ने समस्या बढ्दै गएको अर्का स्थानीयवासी गोपी साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विभिन्न संस्थाले काम गरेर हामीलाई थाहा भयो । हामी आफ्ना छोराछोरीलाई कम्तीमा पनि २० वर्षभन्दा पहिले विवाह गर्न दिँदैनौँ, अरुलाई पनि हुन दिँदैनौँ ।” जिल्लाका विभिन्न समुदाय तथा जातजातिमा छोरीको १७÷१८ वर्षकै उमेरमा विवाह गरिदिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख छ ।

बालविवाह लुकीछिपी प्रशस्तै हुने गरेको भए पनि गएको दुई आवमा जम्मा चारवटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह तथा छाउपडी प्रथा जताततै कायम छ भन्ने सुनिन्छ, तर मुद्दा कसैले हालेका छैनन्, गएको दुई वर्षमा जम्मा दुईवटा मात्रै मुद्दा परेका छन्, मुद्दा नै नपरे प्रहरीले कसरी थाहा पाउने ।” यहाँका महिला आधारभूत तह शिक्षाको अवसर पनि नपाएका र सानैमा विवाह गरी आमा बनेका छन् ।

पछिल्लो समय जिल्लामा बालविवाहलाई कम गर्न अभिभावक शिक्षा दिन थालिएको सामुदायिक विकास मञ्चका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका अधिकांश वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानलाई गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन् ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका विभिन्न टोलमा अभिभावकलाई बालविवाहविरुद्ध टोल शिक्षा दिएको उक्त संंस्थाका शिक्षा अधिकृत यज्ञराज बडूले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह अन्त्यका लागि हामीले अभिभावकलाई टोल शिक्षा तथा बालविवाह गर्दा हुने असर बारेमा जानकारी दिन थालेका छौँ, हामीले दिएको शिक्षाले केही हदसम्म भए पनि बालविवाह हट्न सहयोग गर्नेछ ।” उक्त वडा सबैभन्दा बढी बालविवाह भएको वडाका रूपमा परेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भए पनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो । उहाँका अनुसार २० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने÷गराउनेलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको भए पनि मुद्दा दर्ता नहुँदा बालविवाहले प्रश्रय पाएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।