बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो

पोखरा,प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पक्षी समाज र नेपाल पक्षी संरक्षण सङ्घको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी चरा संरक्षणमा सरोकारवालाबीचको अन्तक्र्रियामा सहभागीले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

अन्तक्र्रियामा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले बगाले बगेडी भँगेरा आकारको रङ्गीन र आकर्षक चरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषतः जाडोयाममा रुस, मङ्गोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्दछ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसङ्कटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेशनलका अनुसार त्यही फेस्टिभलका बेला एक वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्याङ्कले देखाएको छ ।

उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उहाँको भनाइ छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुङ्गीको बासस्थान जोगाउन सकिने बताउनुभयो । “वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन यो सबैको साझा दायित्व हो”, ढकालले भन्नुभयो । उहाँले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणाले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताउनुभयो ।

बर्ड एजुकेशन सोसाइटीका चितवनका अध्यक्ष रमेश चौधरीले नेपालमा ८८६ प्रजातिका चरा अभिलेखीकरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार विश्वमा ११ हजार २२५ प्रजातिका पक्षी छन् । नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी नौ प्रजातिका पक्षीलाई संरक्षित पक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पक्षी हो ।

ग्रिष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १५२ प्रजातिका पक्षी जाडो छल्न आउने गर्दछन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउने गरेको अभिलेख रहेको छ भने ७९ प्रजातिका चरा भने फिरेन्तरूपमा देखिने गरेका छन् । नेपालमा आठ प्रजातिको चरा लोप भइसकेको आशङ्का गरिएको छ । पोखरामा ४७२ प्रजाति र चितवनमा ६९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।

नेपाल पक्षी संरक्षण सङ्घका कार्यक्रम संयोजक मित्र पाण्डेले सन् २००४ देखि २०१७ सम्म तथ्याङ्कलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसङ्कटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिनुभयो । पोखरा पक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले पोखरा नौ तालको शहर भएकाले यस क्षेत्रमा उक्त चराका लागि उपयुक्त बासस्थान भए पनि चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै गएको बताउनुभयो । घिमिरेले सानो चराले बर्सेनि गर्ने हजारौँ किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैँमा रोमाञ्चक रहेको जनाउँदै संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचोसमेत औँल्याउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।