सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम

चितवन, जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो ।

नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ । नगरपालिकाका इन्जिनीयर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो । हरेक तलामा तीनवटा शौचालय र स्नान कक्ष रहने छन् । खाना पकाउने, खाने, अध्ययन गर्ने कोठाहरु समेत छुट्टाछुट्टै हुने उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा एकतले उक्त छात्रावास निर्माण सम्पन्न भएपछि १६ जना विद्यार्थीले आवासीय सुविधा पाउने छन् । तीन तला निर्माण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । उहाँले भन्नुभयो “तीन तला निर्माण सम्पन्न भएपछि ५० जना विद्यार्थीले सुविधा पाउँछन् ।”

पहिलो तलाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पहिलो तलाका लागि रु.८३ लाख १० हजार ८४१ मा ठेक्का दिइएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

त्यस्तै चतुर्मुखी माविमा छात्राहरुका लागि मात्रै छात्रावास बन्दैछ । कोइरालाका अनुसार तीनतले सो भवनको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । भवन सम्पन्न भएपछि १८ जना चेपाङ छात्राले सुविधा पाउनेछन् । सो भवनको हरेक तलामा शौचालय र स्नानकक्ष रहेको छ । रु ४४ लाख २१ हजार ८२० मा भवन ठेक्का दिइएको हो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार चतुर्मुखी माविमा यसअघि नै प्रजा छात्रावास रहेको छ । विसं २०५८ मा उक्त छात्रावास बनेको थियो । नयाँ भवन बनेसँगै छात्राहरु त्यसमा बस्नेछन् भने पुरानोमा छात्रहरु बस्नेछन् । पुरानोमा ४० जना अट्ने क्षमता रहेको छ । त्यस भवनको माथि ट्रष्ट लगाएर थप व्यवस्थित गरिंदै छ ।

मजबाङ मावि सिद्धीमा पनि २० जना क्षमताको छात्रावास सञ्चालनमा छ । यहाँ सीमान्तकृत चेपाङ समुदायका बालबालिका बस्ने गर्दछन् । सिद्धीको छात्रावास धेरै पहिलेदेखि सञ्चालनमा छ । सो विद्यालयमा नयाँ भवन बनेसँगै छात्रावास सहज रुपमा सञ्चालन हुनेछ ।

श्रेष्ठले भन्नुभयो, “चतुर्मुखीको छात्रावासबाट अध्ययन गरेर ४०० भन्दा बढीले प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” नगरपालिकामा त्यही अध्ययन गरेका पाँच जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

नयाँ भवनहरु बनेसँगै थप विद्यार्थीलाई राखेर अध्ययन गराउने उहाँको भनाइ छ । आउँदो दशैंसम्ममा नयाँ भवनहरुमा विद्यार्थी राख्ने योजना नगरपालिकाको छ । यही असारसम्म भवन निर्माण सम्पन्न लक्ष्य लिइएको भए पनि कोभिडका कारण तत्काल विद्यार्थी राख्ने अवस्था छैन ।

चेपाङ पछाडि परेको समुदाय हो । पहाडी भूभागमा वसोवास गर्ने चेपाङहरुको बाह्रै महिना खाना पुग्ने उब्जनी हुँदैन । कतिपय समयमा गिठाभ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।