आश्रममा प्रदेश सरकारको लगानी

बागलुङ,जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निरयघाटमा भवन निर्माण थालिएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्याइएको रु ५० लाख बजेटबाट भवनको काम शुरु गरिएको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाले उपलब्ध गराएको पाँच रोपनी जग्गामा तीनतले भवन बन्न लागेको हो । “बेलैमा बजेट व्यवस्थापन हुन सकेमा आउँदा तीन वर्षभित्रैमा निर्माण पूरा गर्ने लक्ष्य छ”, अध्यक्ष खड्काले भन्नुभयो, “अहिले भुइँतला ढलानको काम भइरहेको छ ।” चालु आवमा प्रदेशबाट आएको बजेटले भ्याउने जति निर्माणको काम हुने बताइएको छ ।

सय जना अट्ने गरी भवनभित्रको संरचना बनाइने भएको छ । योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । आश्रमका सबै पूर्वाधार खडा गर्दा झण्डै रु दश करोडको बजेट अनुमान गरिएको छ । सङ्घ, प्रदेश सरकार र जिल्लाका स्थानीय तहमा बजेट माग गरिने आश्रमले जनाएको छ ।

नगरपालिकाले यसअघि नै आश्रमको अभिभावकत्व ग्रहण गरिसकेको छ । नगरपालिकाकै पहलमा जग्गाको व्यवस्थापन भएपछि भवन निर्माणको टुङ्गो लागेको थियो । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ ।

ठाउँ अभावले गर्दा धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । आश्रमले सडकमा अलपत्र दीनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनर्मिलन गराउँदै आएको छ । आश्रमका संयोजक सुमिरा लामाका अनुसार अहिले ३४ जनाले आश्रय लिइरहेका छन् ।

आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिएको संयोजक लामाले बताउनुभयो । तीमध्ये कैयनको परिवारसँग पुनर्मिलन भइसकेको छ ।

“दुःख पाएर सडकमा पुगेको, सहाराविहीन, मनोरोगी आदि भेटिनुभयो भने उद्धार गरी आश्रममा ल्याउँछौँ”, संयोजक लामाले भन्नुभयो । आश्रमले अघिल्लो वर्ष बागलुङलाई सडक मानवरहित जिल्लाका रुपमा घोषणा गर्ने तयारी गरे पनि कोरोनाका कारण लक्ष्य पछाडि धेकेलिएको छ ।

दुई वर्षअघि कालिका भगवती मन्दिर परिसरमा मागेर जीवन गुजारिरहेका सहयोगापेक्षीको उद्धारसँगै उक्त अभियान आरम्भ भएको थियो । मन्दिर परिसर भने ‘सहयोगापेक्षी सडक मानवमुक्त’ क्षेत्रका रुपमा घोषणा भइसकेको छ ।

‘सडक मानवरहित बागलुङ’को लक्ष्यमा पुग्न आश्रमले स्थानीय तह, प्रशासन र सामाजिक सङ्घसंस्थासँग हातेमालो गरिरहेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा अलपत्र परेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियानकर्मी तथा स्वयंसेवी युवाको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो ।

सोही वर्ष चार सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । त्यसयता सडकमा मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिकालाई आश्रमले उद्धार गरिरहेको छ । आश्रमले सहारा नपाएर अलपत्र परेका बालबालिकालाई उद्धार गरी पढाइमा समेत लगाउने गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।