जे’लभन्दा क’ठोर घरबास, डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा

जितेन्द्र थापा/दैलेख, २ असोज । नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यामिक विद्यालय दैलेखमा अध्यनरत छिन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई घरमा बस्दा दिक्क लाग्थ्यो । न त पढ्न मन लाग्थ्यो । न अरु कुनै काम गर्न । मन अशान्त हुने, निन्द्रा गड्बडीलगायत धेरै समस्या हुन्थ्यो ।

कोरोना संक्रमण दर कम भएसँगै विद्यालय जान पाउँदा उनी अहिले खुसी छिन् । पहिले घरबाट बाहिर निस्किन नपाउँदा र विद्यालय जान नपाउँदा मनमा अनेक थरिका कुरा खेल्ने गरेको सोनी बताउँछिन् । ‘विद्यालय जान नपाउँदा मन आतिन्थ्यो । कहिले विद्यालय खुल्ला भनेर । तर, अहिले विद्यालय जान पाउँदा निकै खुसी छु ।’

त्यस्तै पञ्चकोशी माध्यामिक विद्यालय दुल्लुमा अध्यनरत निलिमा शाहीको पनि विद्यालय जान पाउँदा खुसीको सीमा नै छैन । निषेधाज्ञाका कारण बाहिर निस्किन नपाउँदा कुनै कारागारमा बसेजस्तै लाग्ने गर्थ्यो उनलाई । तर, विद्यालय खुल्दा खुसीले गद्गद् छिन् । ‘घरमा हुँदा आफूले पढेको नबुझ्ने र मानसिक तनाव हुने गर्थ्यो,’ निलिमाले भनिन्, ‘अहिले विद्यालयमा आएर साथीहरुसँग बसेर पढ्न पाउँदा, नजानेको कुरा गुरुहरुसँग सोध्न पाउँदा उत्साहित छु ।’

अहिले स्कुलमा आएर पढ्दा पिँजडाबाट निस्केजस्तो भएको उनको अनुभूति छ । ‘घरमा एक्लै पढ्दा अल्छी लाग्ने, नबुझिने हुन्थ्यो । विद्यालय आउँदा निकै सहज भएको छ । यहाँ साथीहरुसँग छलफल गर्न पाइन्छ । नजानेको कुरा सर म्याडमसँग सोध्न पाइन्छ,’ उनले भनिन् ।

गत वैशाखबाट दोस्रो लहरको कोरोना महामारी बढेसँगै मुलुकभरी नै निषेधाज्ञा गरिएको थियो । सरकारले यसअघि नै बन्दाबन्दी खुकुलो पारे पनि विद्यालय सञ्चालनको अनुमति भने दिएको थिएन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले मोबाइल गेम खेल्ने, खेतबारीमा, बस्तुभाउ चराउन जंगलतिर जानेजस्तो गैर सिकाइमूलक कार्यमा समय व्यतित गरेका थिए ।

विद्यार्थीको सिकाइमा असर पर्न नदिनका लागि इन्टरनेटको पहुँचमा रहेका क्षेत्रमा भर्चुअल (अनलाइन) विधिबाट पठनपाठन गराइएको थियो । तर, सो सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका विद्यार्थी खेल्नमै तल्लीन थिए । धेरैजसो विद्यार्थीहरु विद्यालयमा नै आउन खोजेको अवस्थामा अहिले आउन पाउँदा निकै उत्साहित देखिएका हुन् ।

अभिभावकहरुमा पनि विद्यार्थीलाई जतिसक्दो चाँडो विद्यालय पठाउन पाए हुन्थ्यो भन्ने मनसाय रहेको श्रीकृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् । ‘अभिभावक छोराछारीको पढाई प्रभावित हुँदा निकै चिन्तित थिए,’ थापाले भने, ‘अभिभावकले आफ्ना छोराछोरीलाई अहिले विद्यालय पठाउन पाउँदा निकै उतसाहित देखिन्छन् । लामो समय घरमा बसेर दिक्क भएका विद्यार्थीहरु पनि पहिलेभन्दा अहिले उल्लेख्य रुपमा दिनहरु नछुटाएर आएको देखिन्छन् ।’

लामो समयपछि विद्यालयमा आउन पाउँदा शिक्षकहरु पनि उत्तिकै उत्साहित भएको सरस्वती माध्यामिक विद्यालय दैलेखका प्रधानाध्यापक जीवराज तिमल्सिना बताउँछन् । ‘पहिले घरमा बस्दा बस्दा दिक्क लाग्ने, भएको ज्ञान पनि विद्यार्थीहरुमाझ सेयर गर्न नमिल्ने,’ उनले भने, ‘अहिले स्वास्थ्य मापदण्ड पालना गरि विद्यालय पनि सञ्चालन छ, हामीहरु पनि खुसी छौं।’

११ वटा स्थानीय तह रहेको पालिकामा ८ वटा पालिकाले २७ भदौदेखि विद्यालय सञ्चालन गरिसकेका छन् । अन्य ३ वटा पालिकाले पनि स्वास्थ्यका मापदण्ड पालना गर्दै १ असोजदेखि सञ्चालन गरेका छन् ।

जिल्लाभर ४८१ सामुदायिक र ५७ वटा निजी विद्यालय रहेको दैलेखमा १ लाख विद्यार्थी अध्यनरत छन् । संक्रमण दर कायमै रहेकाले स्वास्थ्य सेवा कार्यालय पनि चनाखो रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमण दर कायमै रहेकाले प्रत्येक पालिकामा किटहरु पठाइसकिएको र संक्रमण दर उच्च भइहालेमा नि:शुल्क पीसीआर ल्याब तयारी अवस्थामा रहेको छ ।

विद्यार्थीसँगै अभिभावक उत्साहित

कोरोना भाइरस कोभिड १९ ले डेढ वर्षसम्म छात्रछात्राहरु विद्यालय जान पाएनन् । कोरोनाका कारण विद्यालय जानुको साटो घरमा नै गैर सिकाइमूलक कार्यमा समय विताउनु पर्‍यो । छोराछोरी घरमा बस्दा उनीहरुलाई मात्र दिक्क होइन अभिभावक पनि दिक्क थिए ।

संक्रमण दर कहिले कम भएर विद्यालय पठाउन पाइएला भन्ने चिन्तामा आफूहरु रहेको कालिकोटका एक अभिभावक पुष्प ढकाल बताउँछन् । ‘विद्यालय बन्द भएपछि छोराछोरी घरमा बस्दा उनीहरुको भविष्य बिग्रने चिन्ताले रातदिन पिरोल्ने गर्थ्यो,’ उनले भने, ‘अहिले संक्रमण दर घटेर विद्यालय सञ्चालन भएपछि ढुक्क भएको छ ।’

कोरोना संक्रमण दर घटेर सामान्य भएर विद्यालय खुले पनि पुनः जोखिम हुने हो कि भन्ने चिन्ता सुर्खेत वीरेन्द्रनगरका अभिभावक रमेश बाठामगरको छ । ‘विद्यालय सञ्चालनपछि जोखिम उस्तै हुने पो होकि भन्ने चिन्ता छ,’ उनले भने ।

लामो समयपछि आफ्ना छोराछोरी विद्यालय पठाउन पाउँदा हर्षित भएको दैलेख ठाटीकाँध गाउँपालिका-२ का हस्त थापा बताउँछन् । ‘छोराछोरीलाई लामो समयसम्म घरमै बस्दा उनीहरुको पढाइ प्रभावित हुने चिन्ता थियो,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएसँगै विद्यालय पठाउन पाउँदा खुसी छौं।’

दैलेखका प्रत्येक स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको लागि अनुमति दिइसकिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताए । ‘केही स्थानीय तहमा विद्यालय सञ्चालन भएर पठनपाठन सुरु गरिसकेको र केही सञ्चालन हुने क्रममा छन्,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पूरा गरेर अरु पनि सञ्चालन हुन्छन् ।’

‘स्थानीय तहले स्मार्ट लकडाउनको अवधारणा मानेर स्वास्थ्यका मापदण्ड पालना गर्ने भनिएको छ, यदि त्यसो नगरिएको खण्डमा सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुन्छ,’ प्याकुरेलले भने ।

दश वटा जिल्ला रहेको कर्णालीका ७९ वटा स्थानीय तहमा अधिकांश विद्यालय स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालनमा आइसकेको अन्य विद्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउने प्रशासन कार्यालयले जानकारी दिएको छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।