जव दिदीबहिनीले रुँदै शव उठाए…

टोपलाल अर्याल/ गुल्मी, २४ कात्तिक । भर्खर दसैँतिहार सकियो । खुसी र उमंग बाँड्न गाउँ आएकाहरू गन्तव्यमा फर्किने हतारोमा छन् । तर, रेसुंगा नगरपालिका–८ का ४४ वर्षीय तिलक परियारको परिवारमा चाडपर्वले हर्षको सट्टा झन् पीडा थप्यो । पहिरोका कारण तिलक परियारले दसैँको मुखमा तीन छोरी गुमाए ।दसैँतिहारमा शोकले आँखा ओभाएका थिएनन्, काखका तीन छोरी थिएनन्, ओत लाग्ने घर भएन, कसरी परिवारमा खुसी मिलोस् । जुन घरमा तीन छोरी गुमाए । त्यो घरमा उनीहरू फर्किन सकेका छैनन् ।

गत ५ असोज राति घरमाथिबाट खसेको पहिरोका कारण १४ वर्षीया गंगा र जमुना तथा २१ वर्षीया छोरी भावनालाई गुमाए । ‘दैवले कोखका छोरी चुँड्यो, दुःखले ऋणधन गरेर बनाएको घर रहेन । मलाई त्यो ठाउँमा फर्किन मन छैन्’, गहभरी आँशु पादर्ए परियारले भने, ‘अब फुटेको कर्मले भत्किएको घर कसरी उठाउँ ।’

सन्तान वियोग भुल्न व्यवसायलाई अगाडि बढाउने

तिलक परियारले १२ वर्षको उमेरबाट सिलाइकटाइको काम गर्थे । त्यही कामकै कारण गाउँबाट सहर आए । पाँच छोरीसहितको परिवारको व्यवस्थापन गरेर घर बनाउन निकै मुस्किल थियो । ठूलो परिवारको कारण तम्घासमा कैयाँै पटक कोठा पाएनन् । उनीसँग कोठाबाट निकालिएका तिता अनुभवसमेत छन् ।
जसका कारण ऋण धन गरेर भए पनि सानो पक्की घर बनाए । उनको भूगोलले घर सजिलोमा थिएन । तर, समथरमा घडेरी किनेर घर बनाउने आर्थिक अवस्था पनि थिएन । ‘आर्थिक अवस्थाका कारण अप्ठ्यारोमा घर बनाएँ’, उनले भने, ‘जातले कोठा पाइँन, विपन्नताले राम्रो ठाउँमा घर बनाउन सकिन ।’

चार जना छोरी एउटै कोठामा सुतेका थिए । राति एक्कासि घर माथिबाट पहिरो खसेको आवाज आयो । बाहिर निकै ठूलो पानी परेको थियो । अर्को कोठामा तिलक र उनकी श्रीमती लालमती थिए । उनीहरूलाई केही भएन । तर, छोरीहरू पुरिएका थिए । परियार दम्पतीले बल्लबल्ल ढोका फोरेर एक छोरी निकाले । आफू, छोरी र श्रीमती बाहिर आएर गुहार मागे, चिच्याए । कसैले सुनेनन् । राति अबेर, पानी परेकाले सुन्ने अवस्था पनि थिएन । सोही दिन तीनवटी छोरी गुमाए उनीहरूले ।

सन्तानको वियोगमा परियार अझै व्यावसायिक जीवनमा फर्किन सकेका छैनन् । छोरी भावना सधैँ बाबासँगै पसलमा हुन्थिन् । उनलाई सिलाइकटाइका लगभग सबै काम आउँथ्यो । आफ्नो पेसा व्यवसाय छोराछोरीहरूले अनुशरण गरे अभिभावकलाई ठूलो सन्तुष्टि मिल्छ । भावना दिदीबहिनीमा उमेरले ठूली, मिहेनती र सहनशील भएकाले बुबाको सहारा थिइन् । दैवको आँखा तिनैमाथि प¥यो । अहिले काम पनि बढी छ । तर, छोरीको वियोगले काम गर्न सकेका छैनन् । उनी अहिले जेठी छोरीकोमा बसेका छन् । घरका सामान लिन पनि गएका छैनन् । ‘अब मैले राम्रो ठाउँमा घर बनाउने कल्पना गरेको छैन । पीडा भुल्न व्यवसायलाई नै अगाडि बढाउने हो’, उनले भने, ‘म मनोरोगी नहुन पनि व्यवसायअघि नबढाउनुको अर्को विकल्प छैन ।’ उनले आफूलाई व्यवसाय विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

जव दिदीबहिनीले रुँदै शव उठाए…

६ असोजमा पोष्टमार्टमपछि पहिरोमा मृत्यु भएका तीन दिदीबहिनीको शव सुष्मा र सुजताले रुँदै रामनाम सत्य भन्दै उठाए । तब, गुल्मी अस्पताल पुगेका सयौँका आँखाबाट आँशु बर्सियो । दिदीबहिनीले पितृसत्तात्मक सोचविरुद्ध समुदायलाई मार्मिक सन्देश दिए । तिलकका पाँच छोरी हुन् । तीमध्ये जेठी छोरी सुष्माले बिहे गरेकी छन् । यो परिवारमा कहिल्यै छोराको महसुस भएन । छोरीहरूले पनि बाबाआमालाई छोराको अभाव हुन दिएनन् । तिलक अचेत थिए । छोरीहरूलाई केहीले शव नउठाउन पनि भने । तर, जेठी छोरी सुष्माले सुजतालाई बोक्ने हिम्मत दिइन् । दुई दिदीबहिनीले शव उठाएर करिब एक किलोमिटर बोकेर पुराए । ‘दैवसँग कसैको केही लाग्ने रहेनछ । बाबाआमाका छोराछोरी जे भने पनि हामी भएकाले शव उठायौँ’, सुष्माले भनिन्, ‘त्यो तस्बिरले समुदायमा समेत राम्रो सन्देश दियो ।’

भाग्यले बाँचेकी सुजता…

एउटै कोठामा सुतेका चार दिदिबहिनीमध्ये साइँली छोरी सुजता भाग्यले बाँचिन् । उनका अनुसार राति एक्कासि पहिरो खस्यो । म अचेत थिएँ । छातिमाथि पहिरो थियो । ढोका फोडेर बुबाले माटो फालेपछि आँखा खुले । मैले मलाईबाहेक कसैलाई देखिन । म हत्तपत्त बाहिर आएर प्रहरीलाई फोन गरेँ । पानी निकै ठूलो प¥यो । कोठामा पहिरो र पानी थपिँदै गयो । दिदी र दुई बहिनी जीवितै होलान् भन्ने लागेन । मलाई सम्झाउने बाबाआमा अचेत भए । दिदी बाँचिन । बहिनीहरू साना थिए, उनीहरू पनि रहेनन् । ‘म समालिएर बाबाआमालाई सम्झाउनुको विकल्प थिएन । ११ दिन निकै गाह्रो प¥यो’, ‘उनले भनिन्, ‘अझै पनि बुबाआमा सम्हालिनु भएको छैन, मैले दैनिक सम्झाउँछु ।’

सुजताको हात समाएर हिँड्ने बहिनीहरू छैनन् । ठूली दिदीको बिहे भयो । त्यसपछि भावना नै बुबाआमापछिको असल अभिभावक हो । ‘आफूले काम गर्थिन् । मलाई पढ्न प्रेरणा दिइन्’, सुजताले दिवंगत दिदीबहिनीको सम्भना गरिन्, ‘आज उच्च शिक्षा पाएँ ।’ सुजताले भने घर बिर्सिएकी छैनन् । जहाँ उनको पनि मिहेनत परेको छ । ‘तयो घर नै हाम्रो महल थियो । कोठा नपाउँदाको पीडा, पाँच छोरीहरूको लालनपालन र पढाइ खर्चले बाबाको आर्थिक अवस्था कहिल्यै दह्रो भएन । हामीहरूकै आग्रहमा आधा पेट खाएर बनाएको घर । सुरुमा सिमेन्ट र छडले अडाएको मात्र हो । पछिपछि विस्तारै मर्मत र रङरोगन गरेका हौँ’, उनले भनिन् ।

सुजताको पुरानो घर गुल्मीदरवार–२ जुभुङ झिरवास हो । उनलाई विपदमा गाउँको सम्झना आयो । गाउँमा छिमेकी अधिकांश गैरदलित छन् । अहिले पनि ११ दिन किरिया बसेको बेला थुप्रै गाउँले आएर सहयोग गरे । जातका कारण घरबाट निकालेको सुजताको मानसपटलमा पनि अमिट छाप छ । एकातिर तीन सन्तान गुमाएका बाबाआमा । अर्कोतिर सुजताकै भविष्य ।

‘मैले बिहे गरेपछि के होला ? अहिले पनि म कतै भुलेँ भने धेरै पटक फोन आउँछ’, केही नै केही व्यवस्थापन होला’, आशावादी हुँदै सुजताले भनिन् ।
आमा लालमतीले पारिवारीक संकटमा धेरै पौँठाजोरी खेलेकी छन् । जसकारण आमा सहनशील छन् । विस्तारै भुल्न सक्लिन्, बाबा भने त्यस्तो छैनन् । सुजतालाई पनि कसैसँग कुनै गुनासो छैन । तर, विपतका बेला पाएको सान्त्वना व्यवहारमा उतार्नुपर्नेमा उनको जोड छ । त्यो बेला जनप्रतिनिधि र सरोकारवालाले केही दिनमै घर पनि बनाइदिने घोषणा गरे । तर, अहिलेसम्म केही काम भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।