कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा
सोलुखुम्बु, १५ मङ्सिर ।नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो । कूल ८९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुखसमेत रहनुभएका शेर्पाले ५१३ र बस्नेतले ४७१ मत प्राप्त गर्नुभएको थियो ।पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गर्नुभएको थियो भने सभापति पदका अर्का उम्मेद्वार रामबहादुर बस्नेतले ५ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो मतपरिणाम अनुसार १० मत अन्तरले अगाडि रहनुभएका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोर्नुभएको छ ।
‘सभ्यसमाज निर्माणमा स्थानीय जागरुकताको आवश्यकता’
गण्डकी, १५ मङ्सिर ।गुणस्तरीय विकाससंगै सभ्यसमाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्युजियममार्ग टोल सुधार समितिद्वारा आयोजित भेलामा वक्ताहरुले लक्षित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न स्थानीयवासीको जागरुकता अपरिहार्य हुने बताए ।पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले भेलाको उद्घाटन गर्दै सामाजिक सङ्घसंस्थाले सुषुप्त अवस्थामा रहेको श्रमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । महानगरले विशेष गरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा ढल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उहाँले सीमित स्रोतसाधनको बाबजुद पनि वडाको समग्र विकासमा निर्माणमा उपयोगकर्ता स्थानीय बासिन्दा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी उपभोक्ता समिति पोखरा– १७ का अध्यक्ष कृष्णप्रसाद पौडेलले तीनै तहका सरकारको सहयोगमा वडामा ४५ किलोमिटर पाइप विस्तार गरिएको र साढे १८ किलोमिटर क्षेत्रमा पाइप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।पोखराको ठूलो र सवैभन्दा बढी जनघनत्व रहेको यस वडाको खानेपानीको पाइप विस्तारका लागि पोखरा महानगरपालिकाबाट रु ८५ लाख, स्व रवीन्द्र अधिकारीको पहलमा रु ३४ लाख र प्रदेशसभा सदस्य कृष्ण थापाबाट रु ५० लाख आर्थिक सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । २०५१ सालमा विस्तार गरिएको जीर्ण अवस्थाको दुई इन्चको पाइपबाट खानेपानीको असुविधा झेल्दै आएका सो मार्गमा प्रदेशसभा सदस्य कृष्ण थापाको रु १० लाखको सहयोगमा तीन इन्चको पाइप विस्तार गरिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो।
समितिको सक्रियतामा सो मार्गमा रहेको लगभग ६ आना सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवन निर्माण गर्ने तयारीसहितको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले त्यसका लागि सबै क्षेत्रका साथ र सहयोग आवश्यक रहको बताउनुभयो । शुभकामना आमा समूहका अध्यक्ष हीरादेवी अधिकारी र समाजसेवी लिलबहादुर जिसीले सभ्य समाज निर्माणसँगै भाषा, संस्कृतिको संरक्षणमा स्थानीय समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष अनवीर थापाले रु ९० हजार ४५३ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष पार्वती खड्काले स्वागत एवम् सचिव भगवान श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।


