१६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । “सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ”, उहाँले भन्नुभयो । महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।
कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उहाँले बताउनुभयो । प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताउनुभयो ।ंग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।
राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन
तुलसीपुर, १९ मङ्सिर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उहाँले जानकरी लिनुभएको हो ।
उहाँले शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गर्नुभएको छ । सोही सभाहल निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ ।
त्यस्तै दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गर्नुभएको छ । सोही अस्पताललाई प्रदेश सरकारमातहत लैजाने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै दङ्गीशरण गाउँपालिका–५ स्थित स्वास्थ्यचौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल , बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन्डाँडा (सीतापुर) जोड्ने पुल निर्माणस्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उहाँले अलवोकन गर्नुभएको थियो ।


