प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ
काठमाडौँ, २१ मङ्सिर ।नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले राससलाई जानकारी दिनुभयो । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो । “चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ”, पाण्डेले भन्नुभयो । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ । “अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ”, संयोजक पाण्डेले भन्नुभयो । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।
कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक
मकवानपुर, २१ मङ्सिर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।
यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो । यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ।


