कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक
काठमाडौँ, २२ मङ्सिर । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब १५० जना महाधिवेशन प्रतिनिधिको नाम भने थप हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
यसैगरी सर्लाहीका चार सङ्घीय निर्वाचन क्षेत्र र महोत्तरीको एक सङ्घीय निर्वाचन क्षेत्रका १३० जना महाधिवेशन प्रतिनिधिको नाम आज साँझसम्म आइपुग्ने उहाँले बताउनुभयो । यस महाविधेशनमा जम्मा चार हजार ७०० भन्दा केही बढी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि हुने समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आगामी शुक्रबार प्रकाशन गरिनेछ ।
स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ, २२ मङ्सिर । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मङ्गलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेशनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा प्रत्येक प्रदेशमा बिबिएम ई–बिजनेश पढ्न चाहने एक छात्रालाई पूर्ण सहुलियत, १४ विद्यार्थीलाई ट्युसन कक्षा पढ्न शत प्रतिशत र २८ विद्यार्थीलाई ५० प्रतिशत छुट दिने उल्लेख छ । चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराइने बताउनुभयो । चेम्बरसँगको सहकार्यमा फाउण्डेशनले स्नातक तहको पढाइमा रु एक करोड १७ लाख बराबरको सहयोग गर्ने फाउण्डेशनका अध्यक्ष जलानले बताउनुभयो । सूचना प्रविधिको विकाससँगै अबका दिनमा ई–विजनेश शिक्षा प्रभावकारी हुने अध्यक्ष जलानको भनाइ थियो ।


