एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

काठमाडौँ, २२ मङ्सिर । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन् । यही मङ्सिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौँ, २२ मङ्सिर ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुट्नुभएका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाउनुभएको हो । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन कार्यदलले सुझाव दिनेछ । कार्यदलले १५ दिनभित्र आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ ।

विभिन्न मन्त्रालय र मातहतका निकायले दिँदै आएका सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदल बनाइएको छ ।उस्तै प्रकृतिका तालिम फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकाले त्यसको समाधान खोज्नुपर्ने मन्त्रालयको निष्कर्ष छ । विभिन्न निकायबाट तालिम सञ्चालन हुँदा त्यसको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ ।अहिले छोटो समयका तालिम धेरै वटा निकायले सञ्चालन गरिरहेका छन् । कार्यक्रम साबिकै संरचनामार्फत वा नयाँ संरचनामार्फत बनाउने भन्नेबारे सुझाव दिन कार्यदललाई भनिएको छ । देशभित्र रोगजारीका अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि प्रतिस्पर्धी एवं सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक योजनाका बारेमा पनि कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अधिकांश अदक्ष रहेका छन् । वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन नसक्दा स्वयम् श्रमिक र मुलुकले ठूलो नोक्सानी व्यहोरिरहेका छन् । सीप नहुँदा वैदेशिक रोजगारीमा गएका श्रमिकले भनेअनुसारको काम नपाउने र न्यून ज्यालामा काम गर्नुपर्नेलगायत समस्या व्यहोर्दै आएका छन् ।मन्त्रालय र मातहतका निकायको सङ्गठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न पनि कार्यदल बनाइएको छ । कार्यदलले वैदेशिक रोजगारी तथा श्रम कार्यालयसहित मातहतका निकायको कार्यबोझ, कार्यप्रगति र सुधारका सम्भावनाको अध्ययन गर्नेछ । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायका साथै श्रम सहचारी नियुक्ति मापदण्डबारे पनि सुझाव पेस गर्नेछ ।

वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्यप्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिने मन्त्रालयले जनाएको छ ।यसैबीच मन्त्री श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताउनुभएको छ । चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीसँगको छलफलमा उहाँले न्यून पारिश्रमिक लिने कलाकारलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताउनुभयो ।मन्त्री श्रेष्ठले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गर्नुभयो । चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामालगायतले चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रुपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने भन्दै सरकारको सहयोगको खाँचो औँल्याउनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।