पार्टीको एप सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन
काठमाडौँ, २४ मङ्सिर । भृकुटीमण्डपमा आयोजित भव्य समारोहका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाविधेशनको उद्घाटन गर्नुभएको छ । प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो । एपमा पार्टीका सबै गतिविधि समेटिएको छ । यस्तै दिवङ्गत कांग्रेस नेता खुमबहादुर खड्काको स्मरणमा तयार पारिएको पुस्तकसमेत उद्घाटन सत्रमा सार्वजनिक गरिएको छ । ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो । हजाराँै नेता तथा कार्यकर्ताको उपस्थितिमा सभापति देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत कांग्रेसका केन्द्रीय नेताको सहभागिता छ । महाधिवेशनको सफलताको शुभकामना दिनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेल उपस्थित हुनुहुन्छ ।यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि महाधिवेशनस्थलमा उपस्थिति छ । भारतबाट भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि आउनुभएको छ । आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।
नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ : भारतीय नेताहरु
काठमाडौँ, २४ मङ्सिर । छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पु¥याउने विश्वास दिलाउनुभयो ।
नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उहाँको भनाइ थियो । उहाँले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनुभयो । उहाँले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोहमा नेताहरुको सम्बोधन गर्नेक्रम जारी छ ।


