एमालेको केन्द्रीय कमिटी बैठक १ बजे

भक्तपुर, २५ मङ्सिर । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने उहाँले जानकारी दिनुभयो ।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन् ।आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजेका लागि सारेर त्यसअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको तामाङले जानकारी दिनुभयो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा छलफल गर्ने भएको छ । बैठक भोलिसम्म बस्ने कार्यतालिका रहेको छ ।

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया
काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ । कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ । कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।