सभापतिमा देउवालाई निधि र गुरुङको पनि समर्थन
काठमाडौं, २८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्नुहुने भएको छ ।
नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा सभापति पदमा देउवालाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ । उहाँले १४औँ महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनमा आफूलाई साथ दिने साथीहरु र आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।सभापतिमा देउवालाई अर्का प्रत्यासी गुरुङको पनि समर्थन-सभापतिका प्रत्यासी रहनुभएका कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।उहाँले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसक्नु भएको थियो ।
पाहुनाको पर्खाइमा डाँडागाउँ हर्कपुर होमस्टे
–सानेबहादुर नेपाली,तनहुँ २८ मङ्सिर । तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित डाँडागाउँ हर्कपुर (घरबास) होमस्टे सञ्चालनमा छन् । समुद्री सतहदेखि करिब ९०० मिटर उचाईमा रहेको यो होमस्टे पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे घुम्तीबाट सात किमी र सदरमुकाम दमौलीबाट दश किलोमिटर दूरीमा पर्दछ । यहाँबाट प्राकृतिक मनोरम दृश्य सजिलैसँग अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य अवलोकनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । डाँडागाउँमा निर्माण गरिएको भ्यूटावरबाट सगरमाथा, गणेश, मनास्लुलगायत विभिन्न हिमाल सहजै अवलोकन गर्न सकिन्छ । भ्युटावरबाट जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित अग्लो छिम्केश्वरीडाँडा, गोरखा, लमजुङ, चितवन, पाल्पालगायत जिल्लाका अग्ला हरियाली र रमणीय डाँडापनि अवलोकन गर्न सकिन्छ । त्यस्तै तनहुँको बन्दिपुर बजार क्षेत्र डाँडा, श्याम्घा, साँगेफाँट, मादी नदी कलेस्ती फाँटको साथै छिमेकी जिल्लाको गोरखा बजारदेखि मनकामना मन्दिरपनि सजिलै हेर्न सकिने हुँदा पर्यटक यस क्षेत्रमा लोभिने गर्दछन् ।
पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारको संसदीय विकास कोषबाट गतवर्ष रु आठ लाखको लगाानीमा सो टावर निर्माण गरिएको थियो । भ्यु टावर निर्माण गरिएको क्षेत्रमा तारबार गर्नका लागि म्याग्दे गाउँपालिकाले रु पाँच लाख प्रदान गरेको होमस्टेकी अध्यक्ष बिहीसरा थापा पुलामीले जानकारी दिनुभयो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी रु ३० लाख बजेट विनियोजन गरेपछि आवश्यक सामुदायिक भवन निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिका कार्यालयले पनि होमस्टे सञ्चालन सुरु गर्दादेखि आर्थिक सहयोग गर्दै आएको छ । यसले होमस्टे सञ्चालक थप उत्साहित बनेको छ ।
विसं २०७५ देखि होमस्टे सञ्चालनमा आएपछि स्थानीय अर्गानिक उत्पादनका परिकारलाई प्राथामिकतामा राखिएको होमस्टेका सल्लाहकार सदस्य बालकृष्ण श्रेष्ठले बताउनुभयो । गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरुले चाख्न पाउँछन् । स्थानीयवासीले आफ्नै भेषभुषामा सजिएर डम्फु बजाउँदै पाहुनाको स्वागतमा जुट्छन् । होमस्टेमा एक पटकमा तीस जना पाहुनालाई राख्न सकिने बताइएको छ । होमस्टेबाट आएको मुनाफाले सामाजिक कार्यमा खर्च गर्ने गरिएको उहाँले बताउनुभयो । प्राकृतिक सौन्दर्यले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य र नेपालमा मात्र पाइने दुर्लभ चराचुरुङ्गी र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेमा पर्ने बस्तीमा पर्यटकलाई यहाँका मौलिक लोक संस्कृतिले स्वागत गर्ने गरिन्छ । होमस्टेमा आउने पाहुनाको लागि प्याकेजमा रु एक हजार एक सय कायम गरिएको छ । दिउँसोको खाजा बेलुकाको खाना मासुसहित बिहानको खाजा र खानाको उक्त मूल्य कायम गरिएको छ । उक्त होमस्टेमा पुग्ने जो कोही पर्यटक पुनः दोहोराएर जाने गरेको बताइएको छ ।


