बल्ल धान खरिद गर्न थाले खाद्य कम्पनी

कञ्चनपुर, १ पुस । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ७५२, मध्यम धानको रु दुई हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ । सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्रै खरिद गर्न थालेको हो ।

कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रबार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतबारदेखि बिहीबारसम्म धान खरिदको कार्य हुने गरेको छ । “धान खरिदका लागि गत शुक्रबारदेखि टोकन वितरणको कार्य गरेका हौँ”, निमित्त शाखा प्रमुख उपाध्यायले भन्नुभयो, “४८ वटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल को हाराहारीमा फ्रेस (गुणस्तरयुक्त) धान खरिद गरिएको छ ।” केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उहाँले बताउनुभयो ।“एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौं”, उहाँले भन्नुभयो, “तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौँ ।”

व्यापारीले चलखेल गर्नसक्ने भएकाले सहजरुपमा किसानको धान खरिद गर्न कोटो निर्धारण गरिएको उहाँको भनाइ छ । बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान बिक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्नका लागि पुग्ने गरेका छन् ।
कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई छ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । धान धेरै आए निर्धारण गरिएको कोटा बढ्नसक्ने निमित्त कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । “थोरै कर्मचारी छौँ”, उहाँले भन्नुभयो, “टोकन प्रणाली लागू गर्दा भिडभाड कम हुने र किसानले बिक्रीका लागि ल्याएको धान सहजरुपमा खरिद गर्न सक्छौँ । त्यसैले टोकन प्रणाली लागू गरेका छौँ ।”कम्पनीको शाखा कार्यालयले एक दिनमा टोकनका आधारमा ६० क्विन्टलदेखि ८० क्विन्टल धान मात्रै तौल गर्दै आएको छ ।

गत वर्ष कम्पनीको शाखा कार्यालयलाई १३ हजार क्विन्टल धान खरिद गर्नका लागि कोटा निर्धारण गरिएको भए पनि नौ हजार ४७९ क्विन्टल धान मात्रै खरिद गरेको थियो । गत वर्ष कम्पनीले मोटो धान रु दुई हजार ७३५ का दरले खरिद गरिएको थियो । खरिद गरिएको धान टेण्डरमार्फत कुटानी गरी चामल आपूर्ति गर्नका लागि तोकिएका क्षेत्रमा टेण्डर प्रक्रियाबाट ढुवानी गरी आपूर्ति हुँदै आएको छ । कम्पनीले ढिलो गरी धान खरिद गर्दा जिल्लाका ८५ प्रतिशत किसानले गल्ला व्यापारीलाई सस्तो दर रेटमै धान बिक्री गरिसकेका छन् । किसानले गल्ला व्यापारीलाई रु एक हजारदेखि रु एक हजार ७०० प्रतिक्विन्टलका दरले धान बिक्री गरेका छन् ।

भिजेको धान भन्दै व्यापारीले सस्तोमै धान खरिद गरेका हुन् । भीमदत्त नगरपालिका क्षेत्रका थोरै किसानले मात्रै कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्न थालेका छन् । कम्पनीका निमित्त शाखा प्रमुख उपाध्यायका अनुसार विगतका वर्ष जस्तो धान बिक्रीका लागि पुग्ने किसानको घुइँचो यस वर्ष लागेको छैन । बेमौसमी वर्षाका कारण किसानले काटेको धान पूरै वर्वाद हुँदा धान बिक्री गर्ने किसान घटेका हुन् । कञ्चनपुरमा ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिकटन धानमा क्षति भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।