थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा

काठमाडौँ, १ पुस ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने अर्का प्रत्यासी शर्माले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले एक हजार २४, प्रदीप पौडेलले ९३५, डा मीनेन्द्र रिजालले ५४६ र डा राजाराम कार्कीले ७५ मत प्राप्त गर्नुभएको छ ।महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेता थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्छ ।

बल्ल धान खरिद गर्न थाले खाद्य कम्पनी
कञ्चनपुर, १ पुस । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ७५२, मध्यम धानको रु दुई हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ ।

सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्रै खरिद गर्न थालेको हो । कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ताको शुक्रबार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतबारदेखि बिहीबारसम्म धान खरिदको कार्य हुने गरेको छ । “धान खरिदका लागि गत शुक्रबारदेखि टोकन वितरणको कार्य गरेका हौँ”, निमित्त शाखा प्रमुख उपाध्यायले भन्नुभयो, “४८ वटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल को हाराहारीमा फ्रेस (गुणस्तरयुक्त) धान खरिद गरिएको छ ।” केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उहाँले बताउनुभयो ।

“एक जना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्छौं”, उहाँले भन्नुभयो, “तोकिएको परिणामभन्दा बढी धान किसानसँग छ भने जग्गाधनी प्रमाण पूर्जा, नागरिकताको प्रतिलिपिसहित कृषि ज्ञान केन्द्रको सिफारिस माग्ने गरेका छौँ ।” व्यापारीले चलखेल गर्नसक्ने भएकाले सहजरुपमा किसानको धान खरिद गर्न कोटो निर्धारण गरिएको उहाँको भनाइ छ । बेमौसमी वर्षाका कारण धानबाली खेतमै उम्रिएपछि थोरै मात्र किसान धान बिक्रीका लागि कम्पनीको कार्यालयमा टोकन माग्नका लागि पुग्ने गरेका छन् ।

कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्ने किसान भीमदत्त नगरपालिका क्षेत्रका मात्रै रहेका छन् । कम्पनीको शाखा कार्यालयलाई छ हजार क्विन्टल धान खरिद गर्ने अनुमति छ । धान धेरै आए निर्धारण गरिएको कोटा बढ्नसक्ने निमित्त कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । “थोरै कर्मचारी छौँ”, उहाँले भन्नुभयो, “टोकन प्रणाली लागू गर्दा भिडभाड कम हुने र किसानले बिक्रीका लागि ल्याएको धान सहजरुपमा खरिद गर्न सक्छौँ । त्यसैले टोकन प्रणाली लागू गरेका छौँ ।” कम्पनीको शाखा कार्यालयले एक दिनमा टोकनका आधारमा ६० क्विन्टलदेखि ८० क्विन्टल धान मात्रै तौल गर्दै आएको छ । गत वर्ष कम्पनीको शाखा कार्यालयलाई १३ हजार क्विन्टल धान खरिद गर्नका लागि कोटा निर्धारण गरिएको भए पनि नौ हजार ४७९ क्विन्टल धान मात्रै खरिद गरेको थियो । गत वर्ष कम्पनीले मोटो धान रु दुई हजार ७३५ का दरले खरिद गरिएको थियो ।

खरिद गरिएको धान टेण्डरमार्फत कुटानी गरी चामल आपूर्ति गर्नका लागि तोकिएका क्षेत्रमा टेण्डर प्रक्रियाबाट ढुवानी गरी आपूर्ति हुँदै आएको छ । कम्पनीले ढिलो गरी धान खरिद गर्दा जिल्लाका ८५ प्रतिशत किसानले गल्ला व्यापारीलाई सस्तो दर रेटमै धान बिक्री गरिसकेका छन् । किसानले गल्ला व्यापारीलाई रु एक हजारदेखि रु एक हजार ७०० प्रतिक्विन्टलका दरले धान बिक्री गरेका छन् । भिजेको धान भन्दै व्यापारीले सस्तोमै धान खरिद गरेका हुन् । भीमदत्त नगरपालिका क्षेत्रका थोरै किसानले मात्रै कम्पनीको कार्यालयमा धान बिक्रीका लागि पुग्न थालेका छन् । कम्पनीका निमित्त शाखा प्रमुख उपाध्यायका अनुसार विगतका वर्ष जस्तो धान बिक्रीका लागि पुग्ने किसानको घुइँचो यस वर्ष लागेको छैन । बेमौसमी वर्षाका कारण किसानले काटेको धान पूरै वर्वाद हुँदा धान बिक्री गर्ने किसान घटेका हुन् । कञ्चनपुरमा ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा दिलबहादुर विष्टका अनुसार वर्षाबाट ६९ हजार २७३ मेट्रिकटन धानमा क्षति भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।