एकसठ्ठी जिल्लामा एमालेको अधिवेशन हुँदै , १६ जिल्लामा स्थगन

–प्रकाश सिलवाल,काठमाडौँ, २३ पुस । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ ।सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । महाधिवेशनपूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो । सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन अहिले केहीबेरपछि थापाथालीस्थित केन्द्रीय कार्यालयको ‘एक्सन रूम’बाट एकैसाथ ‘भर्चुअल’रुपमा गर्ने तय भएको छ । सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले अध्यक्ष ओलीका उपस्थितिमा मूलपानीस्थित क्रिकेट खेल मैदानमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ भने ललितपुर जिल्ला कमिटीले महासचिव शङ्कर पोखरेलका उपस्थितिमा अधिवेशन उद्घाटन कार्यक्रम राखेको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिसो मौसम र आन्तरिक तयारी अपुग भएका हिमालीलगायत १६ जिल्लामा आज अधिवेशन तोकिए पनि स्थगन भएको छ । मौसमी प्रतिकूलताका कारण जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोकिनेछ ।गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही पुस २३ गतेका लागि जिल्ला र आगामी माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ ।जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ । निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ ।

एमालेले २२ जनसङ्गठनको सुदृढीकरणका लागि दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशाअनुरुप जनसङ्गठनलाई नीतिगतरुपमा परिचालित गर्ने गरी आवश्यक योजना पनि बनाउन थालेको छ । जनसङ्गठनको कार्यक्षेत्रसँग सम्बद्ध अन्य सङ्गठनमा आबद्ध व्यक्तिको प्रवेशको सम्भावना आँकलन गरी सम्बन्धित सङ्गठनमा प्रवेशको योजना अघि बढाउने र सबै जनसङ्गठनले आआफ्नो कामको आवश्यकताका आधारमा कमिटीको आकारलाई चुस्तदुरुस्त बनाउने गरी विधानमा आवश्यक संशोधन गर्न एमालेले निर्देशन दिइसकेको छ । एमालेको जनसङ्गठन संयन्त्रले ती सगठनका काम गरेका नेता कार्यकर्ताको व्यवस्थापन र सङ्गठन परिचालनबारे नयाँ मापदण्ड पनि तयार गरिरहेको छ । लामो समयदेखि सम्बन्धित जनसङ्गठनको वैधानिक व्यवस्थाअनुरुप हुन बाँकी (आधारभूत तहदेखि राष्ट्रिय तहसम्मको) अधिवेशन÷सम्मेलन÷महाधिवेशन आगामी फागुन मसान्तसम्ममा आयोजना गर्ने गरी कार्ययोजना तयार गर्न एमालेले निर्देशन दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।