पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

कास्की, १३ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दैै तीनवटा निर्णय गर्नुभएको छ । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय छ ।

पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।”

यस विषयमा पटक–पटक चर्चा र प्रतिबद्धता सङ्घीय सरकारका मन्त्रीहरूबाट भए पनि कार्यान्वयनमा नगएकाले विधिपूर्वक निर्णय गरेर पठाएको आचार्यले बताउनुभयो ।

यसैगरी प्रमुख आचार्यले विपन्न परिवारका बच्चाहरूका लागि पोषण भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ । वडा कार्यालयहरूबाट प्राप्त भएको सिफारिसका आधार गरिब र विपन्न परिवारका बच्चाका लागि सो रकम उपलब्ध गराइने निर्णय छ ।

यसैगरी प्रमुख आचार्यले पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडीसहितको डिजाइन बनाई पेश गर्नेसम्बन्धी प्रस्ताव आह्वान गर्ने निर्णय गर्नुभएको छ ।

विश्वका अधिकांश सहरमा आफ्नो अपनत्व महसुस हुने प्रतीक रहेकाले सोहीअनुसार पोखरा चिनाउने प्रतीक बनाउनका लागि देशभरिका सिर्जनात्मक क्षमता भएका युवाका लागि प्रस्ताव आह्वान गरेर एक महिनाभित्र खरिद प्रक्रिया अघि बढाइने प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रतिस्पर्धाबाट प्रतीक छनोट गरी विजेता हुनेलाई रु दुई लाख पुरस्कार प्रदान गरिनेछ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदबहालीसँगै महानगरका अपाङ्ग बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालनसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय उहाँले गर्नुभएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरको अन्तिम मत परिणाम बुधबार सार्वजनिक भएपछि निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गर्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।