भोकभोकै विद्यालय जान्छन आमाबाबु विहीन बालबालिका

गलेश्वर, २९ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।

अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसँग विवाह गरी मञ्जुलाई छाडेर गएपछि मञ्जुको बिचल्ली भएको हो ।

त्यसैगरी जिल्लाको मालिका गाउँपालिका–७ वाइन्दाफाँटका पुजन फगामीको अवस्था पनि मञ्जुको जस्तै छ । पुजनका बुबा रिम फगामीको विसं २०७८ कात्तिकमा मृ त्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसँग बिहे गरेकी र पुजन अहिले साथीहरूको घरमा आश्रय लिइरहेका विद्यालयका शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै कक्षा ४ मा अध्ययनरत सृष्टि विक बुवा र आमा दुवैले अर्को विवाह गरेपछि आमाबुवा हुँदाहँुदै पनि असहाय बनेकी छन् । मङ्गला गाउँपालिका पूर्णगाउँका बुवा सुनिल विक र आमा सविता विकले अर्को विवाह गरेर अलग–अलग भएपछि छोरी सृष्टिको बिचल्ली भएको हो ।

यी तीन बालबालिका विद्यालयको असहाय प्रतिनिधि विद्यार्थीहरू मात्र हुन् । विद्यालयमा अध्ययनरत करिब ७७ विद्यार्थीमध्ये १४ विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिको भन्दा फरक नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताउनुभयो । “विद्यालय आफैँ पनि समस्याग्रस्त छ, आन्तरिक स्रोत केही छैन । त्यसमाथि १४–१५ असहाय र अतिविपन्न परिवारका विद्यार्थी छन् । उनीहरू कहिले भोकै विद्यालयमा आउँछन्, सर मिसहरूले खानेकुरा किनेर खुवाउँछौँ, कहिले विद्यालयको दिवाखाजाका भरमा ती विद्यार्थी दिन गुजार्न बाध्य हुन्छन्”, प्रअ पुनले भन्नुभयो, “उनीहरूको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ ।”

“बुवाको मृ त्यु भएका, आमाले अर्कैसँग विवाह गरी गएका साथै आमा र बुवा दुवैको माया नपाएका विद्यार्थीलाई देख्दा कटक्क मन खान्छ”, शिक्षिका घनदेवी घर्तीले भन्नुभयो, “कोही मनकारी व्यक्तिले उनीहरूलाई आश्रय दिए वा पढाइलेखाइको खर्च व्यहोरिदिए उनीहरूको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो ।”

विद्यालयमा अध्ययनरत यस्ता असहाय र अतिविपन्न बालबालिकालाई अध्यापनरत शिक्षक–शिक्षिकाले बुवाआमाको जस्तै माया दिएर पढाइरहनुभएको स्थानीयवासीले बताएका छन् । शिक्षक–शिक्षिकाको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थी दैनिकरूपमा विद्यालयमा आउँछन् । अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको बरण्डामै सुतेर रात बिताउने गरेको मञ्जु स्वयंले बताउनुभयो । दाजु मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकभोकै बस्नुपर्ने समस्या छ ।

“विद्यार्थी भोकै हुँदाको दिन विद्यालयका शिक्षक–शिक्षिकाले आफूले खाजा नखाएर भए पनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ”, विद्यालयका एक अभिभावकले भन्नुभयो, “दुःखी, गरिब र असहायलाई देश–विदेशमा रहेका मनकारी व्यक्तिले सहयोग गरेर त्यस्ता व्यक्तिको उद्धार भएको छ, यहाँका यी असहाय बालबालिकालाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदो हो ।”

कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिँदा शिक्षक– शिक्षिका थप समस्यामा पर्नुभएको हो ।

“सधैँभरि शिक्षक–शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ”, बगरफाँट स्थायी घर भई हाल काठमाडौँ बस्नुहुने वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्कीले भन्नुभयो । अहिले तत्काल ती विद्यार्थीको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिको पहलमा विद्यालयमा नै छात्रबासको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । यी असहाय विद्यार्थीलाई सहयोग गर्न चाहनुहुने मनकारी व्यक्तिले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्नुहुने विद्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।