खोटाङको स्थानीय तहमा फोहोरमैला व्यवस्थापन प्रयास प्रभावहीन

खोटाङ, २६ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अव्यवस्थित तरिकाले ठाडो खोल्सीमा फोहोरमैला फाल्ने गरेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित देउले सामुदायिक वनमा लगेर सिधै खोल्सीमा फोहोरमैला मिल्काएको पाइएको हो ।

फोहोरमैला सिधै खोल्सीमा मिल्काउँदा सोभन्दा मुनिका खोला तथा पानीका मुहान प्रदूषित बनाइरहेको देउले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए । ‘फोहोरलाई मोहर’ बनाउँदै स्वच्छ, सफा र सुन्दर नगरको नारासहित नगरपालिकाले दिक्तेलबजारमा उत्पादित फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको थियो । दिक्तेल बजारबाट उत्पादित फोहोरमैला १८ साउन २०७४ देखि १२ किलोमिटर टाढा रहेको देउले सामुदायिक वनमा लगेर मिल्काउन थालिएको थियो । सामुदायिक वनमा हाल डिलबाट सिधै खोल्सा तलतिर फोहोर फाल्ने गरिएको छ । पर्यावरणमा पुग्ने क्षतिको आँकलन नगरी खोल्सामा थुपारिएको फोहोरमैलालाई वर्षाको भलपानीले बगाएर तल्लो बस्तीतिर झारिरहेको देखिन्छ ।

चारैतिर पहिरो गएर बनेको खोल्सीको खोँचको पुछारमा ग्याविन वाल हालेर फोहोरमैला मिल्काउने सर्तमा जग्गा दिइएको भए पनि पर्खाल नहाली फोहोर फाल्न थालिएको अध्यक्ष घिमिरेले बताए । नगरपालिकाले तोकिएको स्थानभन्दा नजिकै अर्को खोल्सामा पनि फोहोर फालिरहेको छ । “तल ग्याविन वाल हालेर पानी निकास नजानेगरी ल्यान्डफिल साइट बनाउन दिइएको हो । तर जथाभावी फोहोरमैला फाल्ने काम भएको छ,” घिमिरेले भने, “फोहोर साप्सु खोलामा मिसिएको छ । डम्पिङसाइट जाने बाटोको स्तरोन्नती गर्नमा नगरको ध्यान गएको छैन ।”

हाल दिक्तेल बजारबाट खाल्ले हुँदै डम्पिङ साइट पुग्ने कच्ची सडक बनेको छ । यसबाहेक लफ्याङ हुँदै डम्पिङ साइटसम्म पुग्ने अर्को बाटो बनाउने सहमती नगरपालिकाले पुरा नगरेको स्थानीय बताउँछन् । भएका कच्ची सडक स्तरोन्नति नहुँदा कतिपय गाडीले बाटैमा फोहोर फालेर फर्कने गरेको स्थानीय प्रेम श्रेष्ठले बताए । शिशाका टुक्रा जथाभावी मिल्काउँदा गोठालो र घाँसदाउरा गर्ने स्थानीयलाई चोटपटक लाग्ने गरेको छ । “फोहोरमैला तल खोलामा पुगेको छ । तल्लो बस्तीका मान्छेले पिउने पानी दूषित बनाएको छ,” श्रेष्ठले भने, “कतिपय ट्याक्टर बाटो बिग्रेकै ठाउँमा फोहोर फालेर फर्कने गरेको छ । वातावरणमा नकारात्मक असर पुगिरहेको छ । जताततै फोहोरमैला र शिशा मिल्काइएको छ । वस्तुगोठाला, घाँसदाउरा जाने स्थानीयलाई समस्या भइरहेको छ ।”

कुहिने फोहोरमैलाबाट कम्पोष्ट मल बनाउने, नकुहिने फोहोरमैलालाई प्रशोधन गर्दै पुन: प्रयोगमा ल्याउने तथा पुन: प्रयोगमा ल्याउन नसकिने फोहोरमैलालाई डम्पिङ साइटमा लैजाने भनिएको थियो । तर हाल डम्पिङ साइटमा सड्ने, नसड्ने, पुन: प्रयोगमा आउने, नआउने सबैखालका फोहोरमैलालाई एकै ठाउँमा मिल्काउने गरिएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि हलेसी बजार नजिकैको नांगेडाँडामा फोहोरमैला व्यवस्थापन सुरु गर्‍यो । नगरपालिकाले फोहोरमैलाको वर्गीकरण गर्दै पुन: प्रयोगमा ल्याउन सकिने शिशाजन्य र कवाडी फोहोरलाई पुःनप्रयोगमा ल्याउने, मल बनाउन सकिने फोहोरलाई मल बनाउन प्रयोग गर्ने र बाँकी रहेको फोहोरलाई डम्पिङ साइटमा लगेर फाल्नेगरी योजना अघि सार्‍यो । तर चर्चा गरेजस्तो फोहोरमैलाको व्यवस्थापन भएको देखिएन । फोहोरमैला फाल्न खनिएका खाल्डो भरिसकिएको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिकाले सबै खालका फोहोरमैलालाई एउटै डम्पिङ साइटमा फालिरहेको देखिन्छ । चिसापानीको पुछार मैदानमा सडक नजिकै खाल्डो खनेर फोहोर मैला थुपारिएको छ । खोटाङका अधिकांश स्थानीय तह फोहोरमैला व्यवस्थापनमा असफल देखिएका छन् ।

१० स्थानीय तहमध्ये कतिपय स्थानीय तहले हालसम्म डम्पिङ साइट बनाउने स्थान नै तोक्न सकेका छैनन् भने कतिपयले तोकिएको डम्पिङ साइटमा जथाभावी फोहोरमैला फालिरहेका छन् । कुहिने, नकुहिने र पुन: प्रयोगमा आउने फोहोरमैलालाई अलग-अलग नगरी एकै ठाउँमा लगेर थुपार्दा सरसफाइ अभियान प्रभावहीन देखिएको छ । बढ्दो जनघनत्वका कारण गाउँपालिकाको केन्द्र तथा मुख्य बजारमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।