सुनिएन असारे गीत, हरायो रोपाइको मौलिकता

सुशीला रेग्मी/रामपुर, ३२ असार । ‘हलगोरु झरे खेताली झरे बेंसीको रोपाइँमा,
सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’,
‘आज नि रोपाइँ भोलि नी रोपाइँ पर्सी नि जानुछ,
एकै र दिन, गरेको खेती वर्षदिन खानुछ’… ।

यसरी गीत गाएर धान रोपाइँ गरेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता बाशिष्ठलाई अहिले पनि ताजै लाग्छ । पञ्चेबाजाको तालमा खेतालाले रोपाइँ गर्दा छुट्टै रौनक हुन्थ्यो, उहा भन्नुहुन्छ । हिजोआज भने असारे गीत कतै सुन्न नपाइएको र पुरानो संस्कार तथा संस्कृति हराउँदै गएको उहाँको गुनासो छ। ज्येष्ठ नागरिक बाशिष्ठ भन्नुहुन्छ, “असार सुरु भएदेखि नै महिनौँ दिनसम्म असारे भाकामा गीत गाउँदै दौँतरीसँग धान रोपेर मेलो सकाउँदा पनि दिन गएको पत्तो हुन्नथ्यो, अहिले धान रोपाइँको पुरानो संस्कृति र परम्परा नै हरायो, हिजोका दिन सम्झँदा जमनाले धेरै नै कोल्टे फेरेछ ।”

पञ्चेबाजाको तालमा असारे गीत गाउँदा मनका पीडा व्यथा बेदना सबै हराउने हुँदा पुराना संस्कार र संस्कृतिको जगेर्ना हुनुपर्नेमा उहाँको जोड छ । साथीसँग ख्यालठट्टा गर्दै मेलो सकाउँदा दिनभर काम गरेको थकानको अनुभूति पनि हुने नगरेको अर्का ज्येष्ठ नागरिक रुक्मिणी रेग्मी बताउनुहुन्छ । “रोपाइँका लागि भनेर एक महिनाअघिदेखि नै खाजाको बन्दोबस्त हुन्थ्यो, विभिन्न थरीका खाजाका परिकार बन्थे, यसरी समूहमा धान रोप्दा माइतीघर जान नपाए पनि साथीसँग दुःख र बेदना गीतमार्फत पोख्न पाउँदा मन भुल्थ्यो, अहिले धान रोपाइँलाई पहिलाजसो झण्झट केही गर्नुपर्दैन, एकै दिनमा गाउँमा सबैका रोपाइँ हुन थाले”, उहाँ भन्नुुहन्छ ।

पाल्पामा आजभन्दा करिब दुई दशकअघि पञ्चेबाजाको तालमा असारे गीत गाउँदै धान रोप्ने परम्परा रहे पनि अहिले यो चलन पूर्णरुपमा हराइसकेको छ । गाउँमा विभिन्न कृषि यान्त्रिकरणको प्रयोग बढ्दै जानु, खेतीयोग्य भूमि घर घडेरीमा परिणत हुनु, युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुजस्ता कारणले पुरानो मौलिक परम्परा र संस्कृति हराउन थालेको हो । गाउँमा कृषि यान्त्रिकरण भित्रिएसँगै पुरानो परम्परा छाडेर नयाँ प्रविधिबाट छिटोछरितो र कम लागत र मेहनतमा कृषकले खेती गर्न थालेको बताउनुहुन्छ, कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी ।

“धान रोपाईको मौलिक परम्परा हराउँदै जान थाले पनि असार १५ को दिन सरकारले धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा अवलम्बन गरी पञ्चेबाजासहित ठूलो समूहमा धान रोप्ने गरेको छ, स्थानीय समुदायले पनि मौलिक संस्कार संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गरी निरन्तरता दिनुपर्छ”, उहाँ जोड दिनुहुुन्छ ।

विशेषगरी महिलाले धान रोप्दा आफ्ना पीडा वेदना पनि गीतका माध्यमबाट व्यक्त गर्ने गदर्थे । घर–माईत गर्दा भोगेका सुख दुःखका गाथालाई असारे भाकामा धान रोप्दा गाएर मलाई शान्त पार्ने गर्थे । यसरी गाउँका साथीसँग मेलापात गर्दा माइतीको न्यास्रो नै हराउने गरेको सीता अर्यालको अनुभव छ । हिजोआज ट्र्याक्टरले हिलो गरेपछि छोटो समयमा रोपाइँ गरेर सकिँदा असारको चटारो कम परेको उहाँको भनाइ छ ।

हलो–जुवा र गोरुको ठाउँ ट्र्याक्टर तथा हाते ट्र्याक्टरको प्रयोग बढ्दो छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा असारलाई लिइन्छ । असारे गीतलाई कसैले रमाइलोका रुपमा त कसैले माया प्रेम, ख्याल ठट्टा, दुःख र बेदना पोख्ने थलोका रुपमा लिने गर्दछन् । खनजोत गर्नाका लागि पावर टिलर, मिनि टिलर, ट्र्याक्टरको सुविधा गाउँ गाउँमा पुगेपछि खेती गर्ने परम्परामा परिवर्तन आउन थालेको छ । एक हल गोरुले दिनभर जोतेर सकाउने जमिन कृषि यान्त्रिकरणको प्रयोगले छोटो समयमा नै सकाउने हुँदा कृषक आधुनिक प्रविधितर्फ आकर्षित हुन थालेका हुन् । अबका पुस्तालाई हिजो बाबु–बाजेले गोरुले जोतेर रोपाइँ गर्ने कुरा एकादेशको कथा जस्तै हुन थालेको छ ।

समयअनुसार नयाँ चलनचल्तीको सुरुआत हुनु सबैले स्वीकार गरेकै छन् । परिवर्तनका नाममा मौलिक परम्परागत संस्कृति लोप हुन पुग्दा भने बुढापाकामा चिन्ता बढेको छ । । हल गोरुको ठाउँमा कृषि यान्त्रिकरणको प्रयोगले रोपाइँ गरिन थालेपछि दिनभर हलो जोतेर जीवन धान्ने मजदुरको रोजीरोटी खोसिन पुगेको छ । यान्त्रिकरणले कृषकलाई लागत र मेहनतको हिसाबले धेरै फाइदा पुगेको उनीहरु बताउँछन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।