बालन संस्कृतिः आर्थिक व्यवस्थापनसँगै कलाकार जोगाउनै मुस्किल

वासुदेव पौडेल/गण्डकी, ४ भदौ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार देशभरका विभिन्न राधाकृष्ण मन्दिर तथा धार्मिक सङ्घ संस्थामा कृष्णलिलामा आधारित संस्कृति प्रदर्शन गरियो । ठाउँठाउँमा देखाइएका झाँकीले दर्शकको मन लोभ्याए पनि यसको जगेर्नामा लागेकालाई भने दिगो आर्थिक व्यवस्थापनसँगै कलाकारलाई टिकाउने चिन्ताले पिरोलेको छ ।

श्रीकृष्ण जन्माष्टमीसहित विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई कलाकारले देखाउने कृष्णबालनका लागि दिगो आर्थिक व्यवस्थापन र कलाकार टिकाउने विषय चुनौतीका रुपमा रहेको राधाकृष्ण सांस्कृतिक समूह पोखरा–३२ का अध्यक्ष विश्वभूषण खनालले जानकारी दिनुभयो ।

आधुनिकताको नाममा पछिल्लो समयमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएका कृष्णबालनजस्ता मौलिक संस्कृति ओझेलमा परेको यस क्षेत्रका अनुसन्धानदाता बताउँछन् । आधुनिक संस्कृतिप्रतिको मोहले पनि यी संस्कृति छायाँमा परेको उनीहरूको तर्क छ ।

खनालका अनुसार एउटा कृष्ण बालन सञ्चालन गर्न करिब ६० देखि ७० सम्म कलाकार चाहिन्छ । उनीहरूले पहिरने वेषभूषाका लागि त न्यूनतम रु छ÷सात लाख लाग्ने उहाँले जानकारी दिनुभयो । पछिल्लो पुस्ताका युवा प्राचीन संस्कृतिमा आधारित भई अभिनय गर्न रुचि नगर्ने, आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापनको चुनौतीसँगै यी संस्कृति नै लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

बालनको तयारीका लागि करिब एक महिनासम्मको पूर्वअभ्यास आवश्यक पर्दछ । त्यसैले समयको व्यवस्थापन पनि यसमा महत्वपूर्ण मानिएको छ । सुरुमा बालन सञ्चालन गर्न आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदसाथै बालने कलाकार तयार गर्न तालिम आवश्यक हुने बालन संरक्षण अभियानकर्ता एवं नेपाली लोकसंस्कृति बालन प्रतिष्ठान तनहुँका अध्यक्ष यमप्रसाद पौडेलले बताउनुभयो ।

“सुरुमा बालन सञ्चालनका लागि आवश्यक संरचना तयार गर्न लाग्ने खर्चका अतिरिक्त बढ्दो महँगीलगायतका कारणबाट प्रत्येक पटक यो प्रदर्शन गर्न करिब रु दुई लाखसम्म लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो । लोपोन्मुख बालन संरक्षणका लागि अहिलेसम्म सरकारी तवरबाट कुनै आर्थिक सहयोग प्राप्त नहुने गरेको बताउँदै उहाँले दुई वर्षसम्मको कोरोना कहरका कारण यसअघि ल्याइएका झण्डै रु चार लाख बराबरका सामग्री पनि बिग्रिएको जानकारी दिनुभयो ।

“आर्थिक अभावसँगै तालिम दिएर तयार गरिएका कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त हुनु, युवा वैदेशिक रोजगारीमा र महिला कलाकार विवाह भएर जानेलगायतका कारण कलाकार टिकाउन सकिएको छैन”, उहाँले भन्नुभयो ।

देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवानका लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृति हो । गायनका साथै नृत्यसमेत प्रस्तुत गरिने कृष्णबालन भगवान् श्रीकृष्णका लीलामा आधारित विशिष्ट मौलिक संस्कृति रहेको सेरावेसी सांस्कृतिक समूहका पूर्वसचिव ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो ।

गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दश अवतारलाई लिएर बालन सञ्चालन गरिने भए पनि कृष्णबालन केवल कृष्णचरित्रमा आधारित हुने उहाँले बताउनुभयो । जनविश्वासअनुसार पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै यो नाच नाच्ने चलन सुरु भएको हो । श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्णजन्म हुँदै कंश बधसम्मका घटनाक्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन् । कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकार बताउँछन् ।

कृष्णबालनका लागि न्यूनतम आवश्यक पर्नेमध्ये एक तिहाइ महिला कलाकार आवश्यक पर्छ । महिला कलाकारलाई घरबाट निस्कन समस्या पर्ने, अविवाहित विवाह भएर जाने आदि पनि समस्याका रुपमा देखिएको छ ।

सेराबेँसी सांस्कृतिक समूहले यसअघि ठाउँ ठाउँमा कृष्णबालन देखाउने गरेको भए पनि अहिले भने कलाकारको समस्या रहेको खनालले जानकारी दिनुभयो । यसअघि अभिनय गरेका ज्येष्ठ कलाकार अशक्त बन्नु, नयाँ युवामा अरुचिलगायतका कारण ६० कलाकार रहेको ठाउँमा ३० जना रहेको उहाँले बताउनुभयो ।

“हालको अवस्थामा केबल आधा घण्टाको मात्र छोटोरुपमा प्रस्तुति देखाउन सकिने अवस्था छ”, उहाँले भन्नुभयो, “कृष्णलिला पूरा देखाउन चार घण्टाभन्दा बढी समय लाग्छ ।” बालनलाई आवश्यक सरसमान खरिदका साथै खेल्ने कलाकारलाई आवश्यक सेवा सुविधा दिने किसिमको वातावरण तयार गरेमा यस संस्कृतिलाई निरन्तरता दिन सकिने यस क्षेत्रको संरक्षणमा लागेका अभियन्ता बताउँछन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।