बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

सन्तोष गौतम/म्याग्दी, ४ भदौ (रासस) ः कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउनुहुन्छ ।

“बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो”, उहाँले विगत सम्झनुभयो, “बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर ब्यापार खस्कियो ।”

पन्ध्र वर्षअघिसम्म म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी मल्लाज क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी बजार । मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकमात्र नभएर सरकारी सेवादेखि रेमिट्यान्सका लागि आएका गाउँका मानिसले बेनी बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थ्ये । अन्य जिल्लामा जाने आउनेको ‘ट्रान्जिट’ बेनी थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो ।

अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी बेनीमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । बेनीका पुराना व्यापारी धर्मनारायण श्रेष्ठले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताउनुभयो । “नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे”, उहाँले भन्नुभयो, “अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पु¥याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।”

करिब दुई किलोमिटर दूरीमा म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनीबजार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । यहाँ एक हजारभन्दा बढी घर छन् । मङ्गलाघाट पश्चिमी क्षेत्र, हुलाकचोक र न्युरोड बजार आसपास तथा कालीपुल उत्तरीक्षेत्र र मुस्ताङको व्यापारिक केन्द्र थियो ।

विसं २०६४ मा कालीगण्डकीमा मोटरेबल पुल नबन्दासम्म अधिकांश डिलरका गोदाम पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ३ वारीबेनीमा थिए । वारीबेनीमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने वारीबेनी अहिले सुनसान भएको व्यापारी डिलबहादुर बरुवाल बताउनुहुन्छ ।

कास्की, पर्वत, बागलुङबाट व्यापारका लागि म्याग्दीमा आएका धरैले बेनी छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौँमा सरेका हुन् । मङ्गलाघाटका घरका सटर खाली हुन थालेको धेरै भयो । डेरामा बस्ने क्याम्पस पढ्ने विद्यार्थी र कर्मचारी धेरै छन् । कालीपुल र वारीबेनीको व्यापारिक अवस्था पनि मङ्गलाघाटको भन्दा फरक छैन । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् । क्याम्सचोक, अस्पताल चोक र महारानीथान, कुरिलाखर्कको पाखोमा बजार विस्तार भएको छ ।

शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न थालेको खाद्यान्न व्यापारीसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अर्कोतर्फ विसं २०६८ सम्म मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा देशका विभिन्न ठाउँबाट सिधा यातायात सम्पर्क थिएन । मुस्ताङ जाने र आउने यात्रुु, तीर्थयात्री र पर्यटक बेनीमा झर्ने गर्दथे । सडक विस्तार र स्तरोन्नतिसँगै मुस्ताङ मात्र नभएर म्याग्दीका गाउँ गाउँबाट सिधै पोखरा–काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । सङ्घीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रित भयो ।

सदरमुकामका कार्यालयमा सेवा लिन आउने ग्रामीण क्षेत्रका सर्वसाधारण बिहान आएर काम सकेर साँझै घरमै पुग्ने गरेका छन् । निजी विद्यालय, क्याम्पस र दश जोड दुई तह अध्ययन गर्ने विद्यार्थीको चाप भने बेनीमा घटेको छैन् । दरबन्दी र पूर्वाधार अभावमा ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले प्रभावकारी सेवा दिन नसक्दा उपचारका लागि पोखरा, काठमाडौँ जाने बेनीमा अडिन सकेका छैनन् ।

मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका दुई वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् ।

बेनीको आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारको विकल्प खोजी गर्नुपर्ने व्यवसायी जीवनबहादुर विश्वकर्माको भनाई छ । “बेनीमा विगतको जस्तो व्यापार छैन”, उहाँले भन्नुभयो “आर्थिक गतिविधिलाई चलायमान बनाउने योजना बनाएर कार्यान्वयन गर्न नसके बेनीका ब्यापारी पलायन हुनेछन् ।”

तातोपानी कुण्ड, गलेश्वर, लभ्लीहिल, पछै, जगन्नाथ, टोड्के, रुइसे, मल्लाजमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटक भित्र्याउन र बसाई लम्ब्याउन सकेमा मात्र बेनीको व्यापारलाई पुरानै लयमा फर्काउन सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।

“तत्काललाई प्राकृतिक उपचारस्थलको रुपमा परिचित तातोपानी, पश्चिमको पशुपतिनाथ भनेर चिनिने गलेश्वर, ऐतिहासिक बेनी कोत, महारानी थान, बरको रुखमुनि रहेको अनौठो बेनी शिवालय मन्दिरको प्रवद्र्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बेनीलाई केन्द्र बनाएर साहासिक पर्यटकीय पूर्वाधारको अध्ययन भइरहेको छ ।”

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीलाई व्यापारिकबाट पर्यटकीय केन्द्रमा रुपान्तरण गर्न अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन थालिएको बताउनुभयो । बेनीको शिरमा रहेको पछैमा रावण पार्क बनाउन सुरु गरिएको र तातोपानीमा प्राकृतिक उपचार केन्द्र सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।

बेनीमा रहेको बाइसेचौबिसे राज्यको पालामा निर्मित ऐतिहासिक बेनीकोत घरको हालै पुनःनिर्माण र जीर्णोद्धार भएको छ । तातोपानी कुण्डमा बिरामीबाहेकका पाहुनालाई पनि चौबिसै घण्टा स्नान गर्ने व्यवस्था मिलाइएको छ । चिनको सिमानामा रहेको मुस्ताङस्थित कोराला नाका सञ्चालन भएमा म्याग्दीको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।