कैलाली र कञ्चनपुरमा मात्रै पाइने रैथाने नकटा हाँस सङ्कटमा

कञ्चनपुर, ५ भदौ (रासस)ः कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिदै जान थालेपछि सङ्कटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ । कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ ।

यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत हाँसका सङ्ख्यामा कमी आउन थालेको हो । सङ्कटापन्न अवस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानीय बासिन्दालाई जैविक विविधता संरक्षणसँगै चरा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नुपर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताउनुभयो ।

“निकुञ्ज आसपासका ताल–तलैया क्षेत्रमामात्रै नकटा हाँस देखिने गरेको थियो”, उहाँले भन्नुभयो, “हाल यस प्रजातिको हाँस घना बस्ती नजिकका ताल–तलैयामा समेत देखिन थालेको छ । यसको संरक्षण गर्नु जरुरी छ ।” बेलौरी नगरपालिकाको शोभाताल क्षेत्रमा पाँच बढीको सङ्ख्यामा नकटा हाँस पहिलोपटक देखापरेको उहाँले बताउनुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातिका सबैभन्दा ठूलो प्रजातिको हाँस हो । यस हाँसले वर्षात्को समय सुरु भएसँगै बच्चा कोरल्ने गर्दछ । रुखको टोड्का, अरु चराले छाडेका गुँड, ठूलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ । पोथीले एकपटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ । अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्दछ । नकटा हाँस काला छिर्कापूर्ण सेतो–सेतो टाउको र सेतो–सेतो तल्लो भाग साथै अपूर्ण साँघुरो छातीपेटी हुने गर्दछ । माथिल्लो र तल्लो पखेटा कालो हुन्छ ।

भालेको कालो–कालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो, निलो र हरियो रङको हुन्छ । ठोँडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो–पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ । हिउँदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ । सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखीभौँ माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन् ।

सिमसार तथा जलसिञ्चित घाँसेमैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने गर्दछ । धेरै जलिय वनस्पति भएका जङ्गलभित्रका तालतलैयामा यो बढी बस्न रुचाउने गर्दछ । रैथाने प्रजातिको यस हाँसलाई नेपालमा सङ्कटापन्नको सूचीमा सूचीकृत गरिएको छ । “यस हाँसको स्वभाव अरु भन्दा भिन्न हुने गर्दछ”, चराविज्ञ डगौराले भन्नुभयो, “यो हाँस अरु हाँसका झुण्डमा मिसिएर बस्ने गरेको पनि पाइएको छ ।”

“यस हाँसको सङ्ख्या थोरै मात्र छ । त्यसैले सङ्कटमा छ”, उहाँले भन्नुभयो, “केही दिनअघि कैलालीका तालतलैयामा गरिएको सर्भेक्षणमा यसको सङ्ख्या ४५ मात्रै रहेको पाइएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका तालतलैया क्षेत्रमा यसको सङ्ख्या ६० को हाराहारीमा रहेको रहेको अनुमान गरेका छौँ ।” यस हाँसले आहाराका रूपमा किरा–फट्याङ्ग्रा, माछा, जलिय वनस्पतिलाई ग्रहण गर्दछ ।

अङ्ग्रेजीमा यसलाई कम्बडक भनेर चिनिन्छ । नकटा हाँस सङ्कटापन्न अवस्थामा रहेकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने चराविज्ञ डगौराको भनाइ छ । “सुदूर तराईका दुई जिल्लाको रैथानेमध्येको ठूलो प्रजातिको हाँस नकटा भएकाले यसको संरक्षणसँगै बासस्थान सुरक्षित बनाउन सकेमात्रै यसलाई जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।