ब्युँतदै ताराखोलाको ‘तारा खेल’

डम्मर बुढामगर/बागलुङ(रासस) : आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षणहुने आशा पलाएको छ । तारा खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् ।

निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन् । बागलुङको ढोरपाटन नगरपालिका सहित तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकामा खेल अझ बढी प्रचलित छ ।

अहिले तारा हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वमा समेत आयोजना गरिँदै आइएको छ । यसले युवापुस्तालाई थप आकर्षित गरेको छ । रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि वाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो ।

तारा खेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । नेपालको दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बडिगाड गाउँपालिका–८ का ७७ वर्षीय मोतीप्रसाद पुनले बताउनुभयो । करिब ४० वर्षको अवधिसम्म लोप भएको यो खेल पुनः खेलिन थालेको उहाँको भनाइ छ । अहिलेको युवापुस्ताले यो खेलप्रति बढी रुचि देखाएको हुँदा चर्चामा आएको उहाँको भनाइ छ ।

“आजभन्दा ४० वर्ष अगाडि यो खेल हामी निकै खेल्ने गरिन्थ्यो, माघेसङ्क्रान्ति आयो कि साथीभाइ जम्मा भएर तारा खेल्न सुरु हुन्थ्यो, हामीभन्दा पछिका पुस्ताले यो खेलप्रति खासै चासो दिएनन्, त्यसले गर्दा लोप भएको थियो, अब यो खेल देख्न पाइँदैन जस्तो लागेको थियो, अहिलेका युवाहरू खुब चासो दिएर लागेका छन्”, स्थानीयवासी पुनले भन्नुभयो, “अब संरक्षण होला भन्ने आश लागेको छ, स–साना बालबालिकालाई पनि यो खेल खेल्न प्रेरित गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ ।”

उहाँले ताराखेल जनजातिको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणमा युवापुस्ताले नै बढी जोड दिनुपर्ने बताउनुभयो ।वुढापाकाका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ । पुर्खाहरूले जङ्गलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ ।

“हाम्रा पुर्खाहरू धेरै वर्ष अगाडि जङ्गलमा बस्ने सिकार गर्ने गर्थे, उनीहरुले जनावरलाई निशाना बनाएर वाण हान्थे, सिकार गरेर ज्यान पाल्थे, सिकार गर्ने प्रचलनपछि गएर हरायो र तारा खेलको विकास भयो, त्यसले गर्दा यो खेल जनजातिको पहिचान र अस्तित्वसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “हामी त बूढो भइयो अब सकिँदैन, जानेको कुरा सिकाउने हो, युवाले नयाँ पिँढीलाई सिकाउनुपर्छ, हाम्रो संस्कार, संस्कृति जोगाउनु पर्छ ।”

परम्परागत तारा हान्ने खेल अझै पूर्णरूपमा संरक्षण हुन नसकेको खेलप्रेमी बताउँछन् । तारा खेलाडी दिप्सन छन्त्यालले लामो समय ओझलेका परेको यो खेलको तीव्र प्रचार र समय–समयमा खेलिराख्नुपर्ने बताउनुभयो । उहाँको यसको प्रवद्र्धन गर्न सकेमा बाह्य पर्यटक तान्न सक्ने भनाइ छ ।

“लामो समय ओझेलमा परेको खेल फेरि खेल्न थालिएको छ, यसको अझै पूर्णरूपमा संरक्षण भएको छैन, यो खेल निकै कलात्मक र रचनात्मक हुन्छ, खेल्ने र हेर्ने सबैलाई यसले आनन्दित बनाउँछ, यसले आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत भित्र्याउने सम्भावन छ, पछिल्लो समय अलिअलि चर्चामा आइरहेको छ, यसभन्दा अगाडि त यो लोप भइसकेको थियो”, खेलाडी छन्त्यालले भन्नुभयो, “हामी पनि लागिपरेका छौँ, नयाँ पुस्तालाई पनि सिकाउन जरुरी छ ।”

तारा हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङलगायत कास्की, काठमाडौँमासमेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा फेरि लोप हुनसक्ने खेलाडी सोनाम थकाली बताउनुहन्छ । “यो खेलको व्यापकरूपमा प्रचार गर्नुपर्छ, हरेक मेला, महोत्सव र चाडपर्वमा आयोजना गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ, नत्र पहिलेको जस्तो लोप हुने अवस्थामा पुग्न सक्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यो खेलाको विकासका लागि बजेट छुट्याउने, समय–समयमा कार्यक्रम गरिदिने हो भने वर्षौँ वर्षसम्म यो खेल संरक्षित भइरहने छ ।”

तारा खेल जनजातिहरू खासगरी माघेसङ्क्रान्तिमामात्रै खेल्ने गर्थे तर अहिले आएर दशै तिहार जस्ता ठूला पर्व र अन्य मेला महोत्सवमा समेत खेल्ने गरेका छन् । युवापुस्तामा निकै आकर्षण रहेको तारा हान्ने खेल प्रवद्र्धनका लागि पालिकाले समेत जोड दिनुपर्ने खेलाडीको भनाइ छ । उनीहरूले नयाँ खेलाडी उत्पादन गर्नका लागि समय–समयमा प्रशिक्षण दिनुपर्ने र प्रशिक्षणको व्यवस्था स्थानीय तहले गर्न सके यो खेल लोप नहुने बताउँछन् ।

साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन नगरपालिका वडा नं ६ का मिलन छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“ यो खेल विदेशमा पनि चर्चित रहेको हुँदा नयाँ खेलाडी उत्पादन गर्नुपर्छ । आफ्नै गाउँठाउँमा ठूलो प्रतियोगिता आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।”

पाँच जनाको ‘समूह’ खेलिने यस खेलमा सहभागी टिममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टिम घोषण गिरिने गरिन्छ । वाण र तीर यस खेलाका लागि आवश्यक सामग्री हुन् । कतिपय प्रतियोगितामा आलमोनियमको बार प्रयोग गर्छन् भने कतिपयमा काठको नै प्रयोग गर्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।