जनयु’द्धका डोवः शीतलता दिदै ‘मालगदिस’ विद्यालय

गोपालप्रसाद बराल/महोत्तरी, २५ भदौ (रासस) ः जता हे¥यो जनयु’द्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ । खयरमाराका वस्तीभित्र त्यतिखेर आफन्त गुमाएको पिडा अझै भुल्न नसकेका परिवारजनका लागि सहिदहरूको सम्झनामा स्थापित विद्यालय मन वुझाउने छहारी बनेको छ ।

माओवादी जनयु’द्धमा तत्कालीन सरकारी सेनाको निशानामा परेका सात माओवादी कमाण्डरको सम्झनामा स्थापित विद्यालय दिवङ्गतका परिवारजनका लागि शीतल छहारी बनेको हो । जहाँ गोलीगठ्ठा र वन्दुकको अभ्यास होइन, गरिव वस्तीका वालवालिका शिक्षाको उज्यालो घामसँग रमाउँदैछन् । सहिद विशालकुमार मालगदिस आधारभूत विद्यालय । सात माओवादी कमाण्डरको स्मृतिमा स्थापित विद्यालय परिसर पुग्दा छटपटिएको मनले सान्त्वना पाउने गरेको सहिद परिवार बताउँछन् ।

“विद्यालय परिसर पुग्दा चर्को गर्मीमा पनि शीतल हावाको अनुभूति हुन्छ”, आफैँ पनि जनयुद्धमा होमिनुभएका सहिद पिता खयरमारा वजारका कमल देवकोटा भन्नुहुन्छ, “यहाँ पुग्दा छोरी र अन्य सहिद साथी नजिक छन् भन्ने लाग्दोरहेछ ।” आफ्नै निर्णयले जनयुद्धमा होमिएको हुँदा अरु पश्चाताप नभए पनि आम जनताको जीवन भने जहाँको त्यहीँ रहँदा मन कुँडिने गरेको देवकोटाको भनाइ छ । माओवादी जनयुद्धताका जिल्लाको एक क्षेत्रका राजनीतिक कमिसार रहनुभएका देवकोटाकी छोरी सरलाको तत्कालीन शाही सेनाले हत्या गरेको थियो ।

चुरे दक्षिण फेदीको वस्ती खयरमारा माओवादी जनयुद्धको आधार इलाका थियो । अहिले महोत्तरीको बर्दिबास नगरपालिका–१० र ११ मा पर्ने खयरमारा पुग्दा जनयुद्ध सम्झाउने धेरै कुरा भेटिन्छन् । जनयुद्धमा परिवारजन गुमाएकाहरुको आँसु, टुहुरा छोराछोरीको वियोग र घरको मुख्य मान्छे जनयुद्धमा मारिएपछि भताभुङ्ग भएको परिवार ! यी उदाहरण बन्छन् जनयुद्ध सम्झाउन खयरमारामा । यसै ठाउँमा फरक अनुभूति ठाउँ बनेको छ, सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय ।

यो जनयुद्धताकाको आधार इलाकामै दुःख, पीडा, वियोगसँगै जनयुद्धका लडाकुको सौर्य र समर्पणको स्मृति यो विद्यालयले सम्झाउने गरेको खयरमारावासी बताउँछन् । खयरमाराले जनयुद्धमा वैचारिक, सैन्य र व्यवस्थापकीय कामका कमाण्डर उल्लेख्य सङ्ख्यामै दियो । जनयुद्धमा हाम फाल्ने लडाकु त कतिकति ! तीमध्ये सहादत प्राप्त गरेका सात कमाण्डरको सम्झनामा यो विद्यालय स्थापना भएको हो ।

“हाम्रो सिङ्गो बस्ती (खयरमारा) नै ‘माओवादी गाउँ’ भनेर चिनिन्थ्यो” जनयुद्धका सहिद मोहनचन्द्र गौतम (कुमार) की जीवनसङ्गिनी बर्दिबास नगरपालिकाका निवर्तमान उपप्रमुख कृष्णमाया गौतम भन्नुहुन्छ, “यहीँका वासिन्दामात्र होइन, जनयुद्धमा होमिएका थुप्रै लडाकुको आश्रयस्थल थियो ।” खयरमारामा घरखेतनै भएका त्यतिखेरका केन्द्रीय नेता सिपी गजुरेल र शेरमान कुँवर (विशाल) सहितका नेताको सामिप्यता खयरमाराले पाएको गौतम सम्झनुहुन्छ ।

यतिखेर खयरमारासँग जनयुद्ध सम्झाउने पारिवारिक विछोडको पीडा खेप्दै आएका परिवारजनमात्र नभएर त्यस युद्धमा सहादत प्राप्त गरेका अमर सहिदको सम्झनास्वरुप स्थापित यो विद्यालय छ । सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय ! अर्थात् माओवादी जनयुद्धमा सहादत प्राप्त गरेका खयरमाराका सात सहिदको सम्झना सधैँ ज्युँदो राख्ने शिक्षाको पवित्र मन्दिर ।

यी सातमा ‘विशाल’ भनिने शेरमान कुँवर, ‘कुमार’ भनिने मोहनचन्द्र गौतम र पाँच अक्षरको ‘मालगदिस’ मा अन्य पाँच मानबहादुर स्याङ्तान्, लक्ष्मण देवकोटा, गङ्गामायाँ स्याङ्तान् ,दीपा कार्की र सरला देवकोटाको सम्झना रहेछ । विशाल स्थायी रुपले सिन्धुलीका वासिन्दा रहेपनि खयरमारालाई बाक्लै कर्मथलो बनाएका तत्कालीन माओवादी नेताका रुपमा खयरमारावासीले सम्झछन् । अन्य छ (६) भने खयरमाराकै वासिन्दा रहेका सहिद विशाल कुमार मालगदिस आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद देवकोटा बताउनुहुन्छ ।

“उहाँ सातैजना हाम्रो ठाउँको दुःखसुखमा साथ रहनुहुने नेता हुनुहुन्थ्यो, अहिले जनयुद्धकालीन घाँउ विर्साउने उहाँहरुकै नाउँमा स्थापित यो विद्यालय छ” देवकोटा भन्नुहुन्छ, “विद्यालय परिसर प्रवेश गर्नासाथ ‘बोर्ड’मा रहेको नाउँले उहाँहरुलाई सम्झाउँछ, वाँकी अरु त सवै व्यथाकै कथा छन् ।”

सहिदका नाउँमा २०६७ सालमा स्थापित यो विद्यालयमा अहिले ११३ छात्रा र १०५ छात्र गरी २१८ जना अध्ययनरत छन् । गरिव वस्तीका छात्रछात्राको यो विद्यालयमा ६७ जना जनजाति समुदायका र ३६ जना दलित समुदायका छोराछोरी अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक दीर्घराज गौतम बताउनुहुन्छ ।

“विद्यालयमा स्थायी दुई र स्थानीय स्रोतबाट एकजना गरी तीन शिक्षकले कक्षा–६ सम्मको पठनपाठन चलाउदै आएको प्रधानाध्यापक गौतमले बताउनुहुन्छ । विद्यार्थी सङ्ख्या र कक्षाअनुसार कमसेकम छ शिक्षक हुनपर्ने आपूmहरुले बर्दिबास नगर कार्यपालिकाको शिक्षा तथा खेलकुद शाखासँग मागगर्दै आएको उहाँको भनाइ छ । आवश्यकता अनुसार शिक्षक दरवन्दी नपाउदा कक्षा सञ्चालनमा निकै अप्ठ्यारो झेल्नु परेको गौतमले बताउनुभयो ।

खयरमारा खोलाको किनार नजिकको करिव दुई कठ्ठा जग्गामा निर्मित चार कोठे भवन अपूग भएपछि अहिले अर्को भवन निर्माणकै चरणमा छ । सहिदहरुको नाउँमा स्थापित यस विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाइ गुणस्तरीय शिक्षाका लागि सम्झनयोग्य ठाउँ बनाउनसके उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने खयरमारावासी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।