पुग्नै मुश्किल छ ढोरपाटन
बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् ।
विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।
ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण हो सडक । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ । जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ । सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षितरुपमा ढोरपाटन पुग्न सकेका छैनन् ।
ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गरेका छन् । चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनुपरेको बताए । बस्यालले ढोरपाटनको नाम धेरैपटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा अलपत्र पर्नुपरेको सुनाए ।
‘ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराब रैछ, बाइकमा जाने त सम्भावना नै रहेन छ, गाडीमा पनि निकै मुस्किल हुँदोरहेछ, धेरै पटक नाम सुनेको र सामाजिक सञ्जालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो’, बस्यालले भने, ‘जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिका बेला निकै समस्या पर्यो, झण्डै अलपत्र परियो, तीन दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रहेछ ।’
सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ । सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का खिमबहादुर सुनारले सडकका कारण टाढाटाढाबाट आउने पर्यटकले दुःख पाएको बताए ।
सडकमा ट्र्याक्टरबाहेक अरु हिँड्न नसक्ने भन्दै गाडी लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उनी बताउँछन् । ‘यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ, अझ दुई वर्ष अगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटक आउँछन्’, सुनारले भने, ‘सडकको हालत निकै खराब छ, ट्र्याक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकले राम्रोराम्रो गाडी लिएर आउनुहुन्छ, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ, त्यसले गर्दा पर्यटक निरास भएर फर्किनुहुन्छ, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन् ?, अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराख्छन् ।’रासस


